रौतहटमा हजुरआमाको हत्या आरोपमा १८ वर्षीय नाति पक्राउ, कारण अझै रहस्यमै

रौतहट— रौतहटको कटहरिया नगरपालिकामा ७५ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय नातिलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट हत्यामा नातिको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमका अनुसार कटहरिया नगरपालिका–३ बडेर्बा निवासी ७५ वर्षीया तेतरी खातुनको हत्या आरोपमा उनका नाति साहिल शेखलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार खातुनको शव साउन १४ गते उनका माइला छोरा सेख निमुदिनको घरभित्र रहेको खाटमा फेला परेको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि पुगेको प्रहरीले घटनास्थलको मुचुल्का, प्रमाण संकलन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

अनुसन्धानका क्रममा संकलित प्रारम्भिक प्रमाण र तथ्यका आधारमा साहिल शेखको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमले जानकारी दिए। उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म हत्या गर्नुको स्पष्ट कारण खुल्न सकेको छैन। घटनापछिका गतिविधि, पारिवारिक अवस्था तथा अन्य सम्भावित पक्षबारे अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप विवरण सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट