राष्ट्रपतिले खोजे सुरक्षा रणनीति, प्रधानमन्त्रीले भने– ‘मैले भिडिओ सम्बोधन गरिसकेँ’
काठमाडौँ— सुनसरीको देवानगन्ज–३, कप्तानगन्जबाट सुरु भएको हिंसात्मक तनाव कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि मुलुकको सर्वोच्च राजनीतिक नेतृत्व पहिलो पटक प्रत्यक्ष संवादमा उत्रियो। तर त्यो संवादले संकट व्यवस्थापनभन्दा पनि सरकारको कार्यशैली, राष्ट्रपति–प्रधानमन्त्री सम्बन्ध र संवैधानिक अभ्यासबारे नयाँ बहस जन्माएको छ।
लगातार सात दिनदेखि सुनसरीसहित कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव कायम रहँदा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति प्रधानमन्त्री वालेन्द्र साह (बालेन) लाई शीतल निवास बोलाएर पछिल्लो सुरक्षा अवस्था, सरकारको तयारी र शान्ति स्थापना प्रयासबारे जानकारी लिए। नयाँ सरकार गठनपछि राष्ट्रपति स्वयंले पहल गरेर प्रधानमन्त्रीलाई शीतल निवास बोलाएको यो पहिलो औपचारिक भेट हो।
पछिल्लो तनावको शृंखला साउन ९ गते कप्तानगन्ज बजारमा दुई युवा समूहबीच भएको विवादबाट सुरु भएको थियो। विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। घटनामा एक युवाको तत्काल मृत्यु भयो भने केही घाइते भए। उपचारका क्रममा बिहीबार अर्को एक युवाको पनि मृत्यु भएपछि मृतकको संख्या दुई पुग्यो।
विहिवारै सिराहामा पनि दुई समूहबीचको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भयो। त्यससँगै सप्तरी, धनुषा र पर्सासम्म तनाव फैलिन थालेपछि सरकारले कोशी र मधेश प्रदेशका संवेदनशील क्षेत्रमा नेपाली सेना परिचालन गरेको छ भने विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञासमेत लागू गरिएको छ।
यही विकसित अवस्थाबीच प्रधानमन्त्री साहले बिहीबार दिउँसो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए। त्यसपछि उनले राष्ट्रका नाममा भिडियो सन्देशमार्फत शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह गरे। सोही सम्बोधनपछि उनी राति करिब ९ बजे शीतल निवास पुगेका थिए।
राष्ट्रपति कार्यालयका अनुसार भेटको उद्देश्य सुनसरीबाट सुरु भई अन्य क्षेत्रमा फैलिएको साम्प्रदायिक तनाव, शान्ति–सुरक्षाको अवस्था र त्यसलाई नियन्त्रण गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी लिनु थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको बुलेटिनमा प्रधानमन्त्रीले सरकारका पहलहरूबारे राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गरिएको छ।
तर स्रोतले भने भेटको अर्को पक्ष पनि चित्रण गरेको छ। राष्ट्रपति पौडेलले सरकारले हिंसा नियन्त्रणका लागि गरिरहेका ठोस प्रयासबारे विस्तृत जानकारी अपेक्षा गरेका थिए। तर, प्रधानमन्त्रीले आफूले राष्ट्रका नाममा भिडियो सम्बोधन गरिसकेको भन्दै जवाफ सिद्याए। ‘मैले भिडिओ सम्बोधन गरिसकेको छु,’ प्रधानमन्त्री साहले राष्ट्रपति पौडेललाई दिएको जवाफ उद्धृत गर्दै शीतल निवासका एक अधिकारीले भने।
पछिल्ला घट्नाक्रममा र सरकारका तर्फबाट भइरहेको प्रयासबारे गम्भीरतापूर्वक आफूलाई जानकारी गराउने अपेक्षा गरेका पौडेल प्रधानमन्त्री साहको जवाफले छक्क परेको ती अधिकारी बताउँछन्। प्रधानमन्त्री साहले मुलुकका अन्य ठाउँमा द्वन्द्व चर्किन नदिन सरकारले गरिरहेको पहलकदमीबारे राष्ट्रपतिलाई कुनै ब्रिफिङ नै गरेनन्।
शीतल निवासका स्रोतहरूका अनुसार भेट करिब १५ देखि २० मिनेटसम्म चलेको थियो। त्यस अवधिमा प्रधानमन्त्री साहले एक कप चिया पिए। त्यसक्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई तीन मुख्य सुझाव दिएका थिए। पहिलो, राष्ट्रिय संकटका बेला सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई साथ लिएर अघि बढ्नुपर्ने। दोस्रो, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै संयमपूर्वक निर्णय गर्नुपर्ने। तेस्रो, नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव जोगाउने गरी प्रत्येक कदम चाल्नुपर्ने।
स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री साहले सरकार वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयासमा रहेको र आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए। यो भेट अर्को कारणले पनि अर्थपूर्ण बनेको छ। प्रधानमन्त्री बनेपछि साह सातौँ पटक शीतल निवास पुगेका भए पनि यसअघिका सबै भ्रमण संवैधानिक शपथ, मन्त्रिपरिषद् गठन, कार्यविभाजन वा अन्य औपचारिक कार्यक्रममा मात्र सीमित थिए।
प्रधानमन्त्रीले सरकारका नीति, राष्ट्रिय सुरक्षा, अर्थतन्त्र वा समसामयिक अवस्थाबारे राष्ट्रपतिलाई छुट्टै भेटेर जानकारी गराएको सार्वजनिक अभिलेख भने देखिँदैन। प्रधानमन्त्री साह १३ चैतमा आफ्नो तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथका लागि पहिलो पटक शीतल निवास पुगेका थिए। त्यसपछि सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीशको शपथ तथा मन्त्रिपरिषद् पुनर्गठनसँग सम्बन्धित संवैधानिक कार्यक्रममा मात्रै उनको उपस्थिति रह्यो।
शीतल निवासका एक अधिकारीका अनुसार नेपालको संवैधानिक अभ्यासमा प्रधानमन्त्री संसद्प्रति मात्र होइन, राष्ट्रपतिप्रति पनि उत्तरदायी हुने भएकाले मुलुकको सुरक्षा अवस्था, कूटनीतिक गतिविधि, अर्थतन्त्र, मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय तथा राष्ट्रिय महत्वका विषयमा समय–समयमा राष्ट्रपतिलाई जानकारी गराउने परम्परा रहँदै आएको थियो। वर्तमान सरकार गठनपछि भने त्यो अभ्यास लगभग रोकिएको उनीहरूको भनाइ छ।
यसैबीच सुनसरीमा सुरु भएको तनाव राष्ट्रिय बहसको विषय बनिरहेका बेला प्रधानमन्त्रीभन्दा अघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति पौडेललाई भेटेर घटनाक्रमबारे जानकारी गराएका थिए। त्यसपछि प्रधानमन्त्रीको सक्रियता र सूचना प्रवाहको शैलीबारे राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका थिए।
यही पृष्ठभूमिमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई आफैँ शीतल निवास बोलाएर विकसित सुरक्षा अवस्थाबारे जानकारी लिनु र सरकारको रणनीतिबारे प्रत्यक्ष संवाद गर्नु राजनीतिक तथा संवैधानिक दुवै दृष्टिले महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

