तराईमा कर्फ्यु खुकुलो, ग्यास संकट बढ्योः बजार खुलेपनि ग्यास अभावले जनजीवन प्रभावित

राजविराज — सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्ज घटनापछि तनावग्रस्त बनेका पूर्वी तराईका जिल्लामा प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु क्रमशः खुकुलो पार्न थालेको छ। यद्यपि, सप्तरीसहित विभिन्न जिल्लामा अत्यावश्यक उपभोग्य वस्तु, विशेषगरी एलपी ग्यासको अभाव भएको गुनासो बढेको छ।

सप्तरीमा जारी कर्फ्युबीच जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारेपछि स्थानीय बासिन्दाले दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न पाएका छन्। सीडीओ श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार नागरिकको दैनिक तथा अत्यावश्यक कामकाजलाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिको निर्णयपछि उक्त समयका लागि आवतजावत खुला गरिएको हो।

प्रशासनले तोकिएको अवधिभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई हुलदंगा, अशान्ति वा उच्छृंखल गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। बिहान ९ बजेपछि भने राजविराज र बोदेबरसाइन नगरपालिकामा अर्को सूचना नभएसम्म कर्फ्यु यथावत् छ।

प्रशासनले बोदेबरसाइन नगरपालिकामा साउन १४ गते राति १० बजेदेखि तथा राजविराज नगरपालिकामा साउन १५ गते बिहान ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लागू गरेको थियो।

यसैबीच, सुनसरीमा इटहरी, रामधुनी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका तोकिएका क्षेत्रमा शनिबार बिहान साढे ८ बजेदेखि कर्फ्यु हटाएर साँझ ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। सीडीओ इश्वरीप्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको मूल्याङ्कनपछि कर्फ्यु हटाइएको भए पनि पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धर्ना गर्न रोक लगाइएको छ।

धनुषाको जनकपुरधाम क्षेत्रमा पनि शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ। सीडीओ प्रेमप्रसाद लुइँटेलका अनुसार लक्ष्मीनिया, नगराइन, बेलौनी रोड, सिनुरजोडा, सोहनी, मणिमण्डप, इस्कोन जनकपुर, दुधमती पुललगायत क्षेत्रमा अर्को आदेश नभएसम्म सार्वजनिक भेला र प्रदर्शनमा रोक लगाइएको छ।

सिरहाको लहान क्षेत्रमा पनि कफ्र्यु हटाइएको छ भने गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ। सीडीओ सुरेन्द्र पौडेलले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गरेर थप निर्णय गरिने बताएका छन्।

यता, तनावका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि सप्तरीसहित पूर्वी तराईका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभावको गुनासो बढेको छ। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनमा नेपाल आयल निगमले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको जनाएको छ।

निगमका अनुसार दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहे पनि बजारमा अभाव भएको समाचार सार्वजनिक भएपछि त्यसप्रति गम्भीर ध्यान दिँदै सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट