सिरहामा गृहमन्त्री पुग्नुअघि मृतक बालकको घरअगाडि तनाव, सुरक्षा टोली नै घेरियो

लहान — सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ सिरहा पुग्ने तयारी भइरहेका बेला मृतकको घरअगाडि स्थानीयवासी र सुरक्षा निकायबीच तनाव उत्पन्न भएको छ।

स्थानीयले गृहमन्त्रीको सुरक्षा व्यवस्थाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधन घेराउ गर्दै आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूको तत्काल रिहाइको माग गरेका छन्।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङ मृतकका परिवारसँग भेट गरी आवश्यक छलफल गर्ने र सहमतिपछि शव परिवारलाई बुझाएर अन्त्येष्टिको प्रक्रिया अघि बढाउने तयारीमा छन्। यसअघि सिरहाका सीडीओ सुरेन्द्र पौडेल पनि सुरक्षाकर्मीसहित औरही गाउँपालिका–२, तुलसीपुर (मोतिपुर) स्थित मृतकको निवास पुगेका थिए। त्यहाँ स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।

सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादव गोली लागेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि सिरहाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

मृतकको घरअगाडि भेला भएका स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन्। पक्राउ परेकाहरूलाई रिहा नगरेसम्म आन्दोलन नरोक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

यसैबीच, सिरहा प्रहरीले सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याएको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा गोलबजारबाट दुई जना र सदरमुकाम सिरहाबाट तीन जना छन्। उनीहरूको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।

डीएसपी पालले पछिल्लो समय सुनसरी घटनालाई लिएर सिरहाका विभिन्न स्थानमा आन्दोलन चर्किरहेका बेला सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए। उनले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।

सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनापछि कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन, निषेधाज्ञा र सुरक्षा सतर्कता बढाइएका बेला सिरहाको पछिल्लो घटनाले सुरक्षा चुनौती थप जटिल बनेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट