‘प्रधानमन्त्रीको आदेश’ भन्दै सेनाको आग्रहसमेत अटेर गरी राजु पाण्डेले ट्रस्टको जग्गामा चलाए डोजर
काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाल ट्रस्टको संरक्षणमा रहेको तथा नेपाली सेनाको सुरक्षा व्यवस्थापनभित्र पर्ने जग्गामा सोमबार प्रतिनिधिसभा सदस्य राजु पाण्डेको नेतृत्वमा सरकारी डोजर चलाएर करिडोरको बाटो खोलिएपछि नयाँ विवाद उत्पन्न भएको छ।
डोजर सञ्चालनअघि नेपाली सेनाले आवश्यक कानुनी प्रक्रिया र लिखित अनुमति माग्दै काम रोक्न आग्रह गरे पनि सांसद पाण्डेले आफू प्रधानमन्त्री वालेन्द्र साह (बालेन)सँग छलफल गरी स्पष्ट आदेश लिएर आएको दाबी गर्दै काम नरोकिने अडान लिएपछि अन्ततः डोजर चलाएर बाटो खोलिएको हो।
घटनास्थलमा सांसद पाण्डे, स्थानीय जनप्रतिनिधि, र नेपाली सेनाका अधिकारीबीच भएको संवादको भिडियो सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ। भिडियोमा सेनाका अधिकारीले प्रक्रिया पूरा नभएसम्म काम रोक्न आग्रह गरिरहेका देखिन्छन् भने सांसद पाण्डेले प्रधानमन्त्रीको निर्देशनअनुसार आएको भन्दै डोजर नरोकिने बताएका छन्।
वडा नम्बर ४ का अध्यक्ष जयराम महतका अनुसार नेपाली सेनाको संरक्षणमा रहेको नेपाल ट्रस्टको जग्गाबाट करिडोरको बाटो सोमबार औपचारिक रूपमा खोलिएको हो। उनका अनुसार उक्त बाटो खोल्न स्थानीय तहले २०६७ सालदेखि निरन्तर पहल गर्दै आएको थियो। त्यसबेला तत्कालीन प्रधानमन्त्रीबाट समेत बाटो खुलाइदिने आश्वासन प्राप्त भए पनि कार्यान्वयन हुन नसकेको र त्यसपछि बनेका विभिन्न सरकारसमक्ष पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएको उनले बताए।
वडाध्यक्ष महतका अनुसार यसपटक सांसद राजु पाण्डेले स्थानीय जनप्रतिनिधिलाई आफूले प्रधानमन्त्रीसँग आवश्यक छलफल गरिसकेको जानकारी गराउँदै तयारी अवस्थामा रहन आग्रह गरेका थिए। त्यसपछि स्थानीय प्रतिनिधि, सर्वसाधारण र सरकारी डोजरसहितको टोली घटनास्थल पुगेको थियो।
प्रत्यक्षदर्शीका अनुसार डोजर सञ्चालन सुरु भएपछि नेपाली सेनाका अधिकारीहरूले काम रोक्न आग्रह गर्दै आवश्यक लिखित अनुमति वा सम्बन्धित निकायको औपचारिक पत्र प्रस्तुत गर्न अनुरोध गरेका थिए। सेनाका अधिकारीहरूले उक्त स्थानमा नेपाली सेनाको ब्यारेक रहेको र सुरक्षा व्यवस्थासँग सम्बन्धित विषय भएकाले प्रक्रिया पूरा नगरी संरचना हटाउन नमिल्ने धारणा राखेका थिए।
सार्वजनिक भएको भिडियो संवादमा सेनाका एक अधिकारीले नेपाल ट्रस्टबाट औपचारिक स्वीकृति वा अधिकारपत्र आवश्यक रहेको बताएका छन्। त्यसको जवाफमा सांसद पाण्डेले नेपाल ट्रस्टसँगै बुझ्न आग्रह गर्दै करिडोरको बाटो धेरैअघि नै खुलिसक्नुपर्ने जिकिर गरेका छन्।
भिडियोमा सेनाका अधिकारीले ‘फौज बसेको छ, ब्यारेक रहेको छ’ भन्दै सुरक्षा संवेदनशीलताको विषय उठाउँदा सांसद पाण्डेले ‘फौज बसेको छ त के भयो’ भन्दै त्यसले बाटो खोल्न अवरोध नहुने बताएका छन्। उनले जीर्ण पर्खाल कुनै पनि बेला जोखिम बन्न सक्ने र सार्वजनिक करिडोरको जग्गा अन्य निकायले ओगटेर राख्न नमिल्ने तर्क पनि गरेका छन्।
सेनाका अधिकारीले केहीबेर काम रोक्न अनुरोध गर्दै आवश्यक अधिकारपत्रको माग गरे पनि सांसद पाण्डेले ‘यो डोजर रोकिँदैन, मैले स्पष्ट आदेश लिएर आएको छु’ भन्दै काम निरन्तर अघि बढाउन निर्देशन दिएको भिडियोमा देखिन्छ। त्यसपछि डोजरले पर्खाल हटाउँदै करिडोरको बाटो खोलेको थियो।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार उक्त करिडोर खुल्दा वर्षौंदेखि आवतजावतमा समस्या भोगिरहेका स्थानीय बासिन्दालाई प्रत्यक्ष सुविधा पुगेको छ। उनीहरूको भनाइमा सार्वजनिक उपयोगका लागि छुट्याइएको करिडोर लामो समयदेखि अवरुद्ध रहँदा स्थानीयले सास्ती खेप्दै आएका थिए।
घटनापछि सार्वजनिक भएको भिडियोका आधारमा सांसद र सेनाबीचको संवाद सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। यद्यपि, उपलब्ध विवरणअनुसार नेपाल ट्रस्ट, नेपाली सेना, प्रधानमन्त्रीको सचिवालय वा अन्य सम्बन्धित निकायबाट घटनाबारे औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन।
यस घटनाले सार्वजनिक करिडोर, नेपाल ट्रस्टको जग्गाको व्यवस्थापन, नेपाली सेनाको सुरक्षा जिम्मेवारी तथा सार्वजनिक पूर्वाधार विस्तारका क्रममा अपनाइने कानुनी प्रक्रिया र निकायहरूबीचको समन्वयबारे नयाँ प्रश्न खडा गरेको छ। विवादित घटनासम्बन्धी थप आधिकारिक धारणा र कानुनी प्रक्रिया सार्वजनिक हुन बाँकी रहेको छ।

