मुख्यमन्त्रीको दौडले मध्यराति गुण्डुको तापक्रम बढायोः आरोप–प्रत्यारोपकै बीच कसरी ढले जगन्नाथ थपलिया?

काठमाडौँ— नेकपा (एमाले)भित्र बागमती प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने शक्ति संघर्ष सोमबार मध्यराति पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा यस्तो मोडमा पुग्यो, जहाँ राजनीतिक बहस स्वास्थ्य संकटमा परिणत भयो। संसदीय दलका नेता जगन्नाथ थपलिया बैठककै क्रममा अचेत भएर ढलेपछि एमालेभित्रको आन्तरिक शक्ति संघर्ष, नेतृत्व चयनको प्रक्रिया र निर्णय शैलीमाथि नयाँ प्रश्न उठेका छन्।

साँझ करिब ७ बजेदेखि सुरु भएको बैठक राति झन्डै १ बजेसम्म चलेको थियो। बैठकको औपचारिक उद्देश्य बागमती प्रदेशमा नयाँ सरकार गठनको रणनीति तय गर्नु भए पनि छलफलको केन्द्रमा संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकांक्षी जगन्नाथ थपलियाको नेतृत्व क्षमता पुगेको थियो। बैठकमा सहभागी नेताहरूका अनुसार थपलियामाथि सरकार गठन गर्न नसकेको, संसदीय दललाई प्रभावकारी रूपमा सञ्चालन गर्न असफल भएको र जनस्तरमा स्वीकार्यता कमजोर रहेको आरोप एकपछि अर्को गर्दै उठाइयो।

बैठकमा सहभागी स्रोतहरूका अनुसार प्रदेशका केही सांसदहरूले थपलियालाई नेतृत्वबाट हटाएर नयाँ अनुहारलाई अघि सार्नुपर्ने धारणा राखेका थिए। ती आलोचनामा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि कठोर रूपमा प्रस्तुत भएको दाबी बैठकमा सहभागी केही नेताहरूले गरेका छन्।

आफूमाथि केन्द्रित आलोचनापछि थपलियाले प्रतिवाद गर्दै आफूले पाँच दशकभन्दा बढी समय पार्टीका लागि गरेको योगदान स्मरण गराएका थिए। पञ्चायतकालीन जेलजीवनदेखि एमालेको संगठन निर्माणसम्मको यात्राको चर्चा गर्दै उनले आफूविरुद्ध योजनाबद्ध रूपमा वातावरण बनाइएको गुनासो गरेका थिए।

बैठकमा सहभागी एक प्रदेश सांसदका अनुसार थपलियाले आफ्नो राजनीतिक योगदानको अवमूल्यन गरिएको भन्दै आपत्ति जनाएपछि वातावरण झन् तनावपूर्ण बनेको थियो। उनीहरूका अनुसार थपलिया भावुक हुँदै बोलिरहेका बेला मानसिक दबाब अत्यधिक बढ्यो र उनी बैठक कक्षबाट बाहिरिन खोज्दा अचानक ढले।

घटनापछि उपस्थित नेताहरूले तत्काल पानी छर्केर उनलाई होसमा ल्याउने प्रयास गरेका थिए। एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामासहित केही सांसदले प्राथमिक उपचार गरेपछि थपलियालाई मध्यपुर थिमी अस्पताल पु¥याइएको थियो।

अस्पताल स्रोतका अनुसार उनको रक्तचाप र रगतमा चिनीको मात्रा अस्वाभाविक रूपमा बढेको देखिएको थियो। केही समय उपचारपछि डिस्चार्ज गरिए पनि उनी विश्रामका लागि त्रिपुरेश्वरस्थित एक होटलमा राखिएको बताइएको छ। एमालेका केही नेताले उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको बताएका छन्।

घटनापछि एमालेभित्र अर्को राजनीतिक बहस पनि तीव्र बनेको छ। केही दिनअघि मात्रै पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भएको चर्चा थियो। तर सोमबारको बैठकमा परिस्थिति उल्टिएको देखिएको स्रोतहरूको दाबी छ।

बैठकमा किरण थापा मगरको नाम नयाँ मुख्यमन्त्रीका रूपमा जोडदार रूपमा उठेको थियो। एमाले सचिव महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा अन्य नेताहरूबीच त्यस विषयमा लामो छलफल भएको बताइएको छ। स्रोतका अनुसार भक्तपुर–२ (क) बाट निर्वाचित किरण थापालाई नेतृत्वमा ल्याउन पार्टीभित्र सक्रिय लबिङ भइरहेको छ।

बागमती प्रदेशमा सरकार गठनको अंकगणित एमालेका लागि सहज छैन। एमालेसँग २५ प्रदेशसभा सदस्य भए पनि सरकार बनाउन अन्य दलको समर्थन आवश्यक छ। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको समर्थन निर्णायक मानिएको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार राप्रपाका केही सांसदसँग भएको छलफल र उनीहरूको सम्भावित समर्थनलाई आधार बनाएर नेतृत्व परिवर्तनको विकल्प अघि सारिएको थियो। किरण थापाले राप्रपाभित्र पनि समन्वय गरिरहेको दाबी बैठकमा प्रस्तुत भएको स्रोतहरूको भनाइ छ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने सुरुदेखि नै संसदीय दलको नेतालाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेको चर्चा पार्टीभित्र चलिरहेको छ। तर अन्तिम निर्णय भने बहुमत जुटाउने क्षमताका आधारमा हुने संकेत अध्यक्ष ओलीले दिएको बैठकमा सहभागी सांसदहरूको भनाइ छ।

प्रदेश सांसद भारती पाठकले पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने व्यक्तिलाई नेतृत्व दिने विषयमा छलफल भएको बताएकी छिन्। पूर्वमन्त्री तथा प्रदेश सांसद कृष्ण सिलवालले समेत २५ सांसदमध्ये जसले बहुमतको समर्थन देखाउन सक्छ, उसैले नेतृत्व पाउने धारणा बैठकमा राखिएको बताएका छन्।

उता, बैठकपछि थपलिया ढलेको घटनाबारे सार्वजनिक रूपमा टिप्पणी नगर्न पार्टीभित्र मौखिक निर्देशन दिइएको दाबी पनि केही सांसदहरूले गरेका छन्। प्रदेश सांसद रघुनाथ महर्जनले यस विषयमा आफू केही नबोल्ने प्रतिक्रिया दिएका छन्।

एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामाले थपलिया स्वास्थ्यलाभ गरिरहेको पुष्टि गर्दै बैठकको विस्तृत विवरणबारे भने प्रतिक्रिया दिन चाहेनन्। उनले यस विषयमा प्रदेश इन्चार्ज महेश बस्नेत र प्रदेश अध्यक्ष कैलाश ढुंगेलसँग बुझ्न आग्रह गरेका छन्।

यसबीच किरण थापाको पक्षमा हस्ताक्षर संकलनको प्रयास भइरहेको र केही प्रदेश सांसदहरू भक्तपुरस्थित एक होटलमा भेला भएको जानकारी पनि एमाले स्रोतहरूले दिएका छन्।

बागमती प्रदेश सरकार गठनको विषय अहिले केवल सत्ता समीकरणको प्रश्न मात्र होइन, एमालेभित्र नेतृत्व चयन, आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रियाको पारदर्शिता र शीर्ष नेतृत्वको शैलीमाथि समेत बहसको विषय बनेको छ। यद्यपि, बैठकभित्र भएको भनिएका संवाद, आरोप–प्रत्यारोप र व्यवहारसम्बन्धी दाबीहरूमा पार्टी नेतृत्वबाट औपचारिक पुष्टि वा विस्तृत प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

बागमती सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णयसँगै यो विवादले आगामी दिनमा एमालेको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट