लहानमा पेस्तोलसहित तीन युवा पक्राउ
सिरहा — सिरहाको लहान नगरपालिका–२२ सलोखरीमा नियमित गस्तीका क्रममा प्रहरीले म्यागजिनसहित ९ एमएम जस्तो देखिने पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार राति करिब ११ बजे गरिएको जाँचका क्रममा एक जनाको साथबाट हतियार फेला परेपछि अन्य दुई जनालाई पनि संलग्नताको आशंकामा नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि देखिएपछि स्थानीय २० वर्षीय सवरजित दासलाई जाँच गरेको थियो। जाँचका क्रममा उनले लगाएको पाइन्टको दाहिने गोजीबाट म्यागजिनसहित ९ एमएम जस्तो देखिने पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको हतियारको प्रकृति, त्यसको स्रोत तथा प्रयोगको उद्देश्यबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान इलाका प्रहरी कार्यालय लहानबाट भइरहेको प्रहरीले जानकारी दिएको छ।

