लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, को हुन याङ्की ?

काठमाडौँ— सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकास अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक नीति, दिगो विकास, जलवायु तथा लगानी व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी उक्याबलाई बोर्डको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्याबको नियुक्ति भएको जानकारी दिए। उक्याबको नाम अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयोजक रहेको सिफारिस समितिले मन्त्रिपरिषद्मा पठाएको तीन सदस्यीय संक्षिप्त सूचीमध्येबाट छनोट गरिएको हो। उक्त सूचीमा मनोज पौडेल र जितेन्द्र धिताल पनि सिफारिस भएका थिए।

नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन, हरित अर्थतन्त्र, सार्वजनिक लगानी, पूर्वाधार विकास, संघीय वित्तीय प्रणाली तथा डिजिटल रूपान्तरणका विषयमा कार्यअनुभव भएकी विज्ञका रूपमा परिचित छिन्।

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी (एमपीपी) अध्ययन गरेकी छिन्। व्यावसायिक जीवनमा उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालमा विकास अर्थशास्त्रीका रूपमा काम गरेकी थिइन् भने पछिल्लो समय फिजीस्थित यूएनडीपी प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार (सिनियर पोलिसी एडभाइजर) को जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

यूएनडीपीमार्फत उनले प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूमा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, संस्थागत क्षमता विकास, सार्वजनिक नीति सुधार तथा आर्थिक उत्थानशीलतासम्बन्धी कार्यक्रमहरूमा काम गरेकी छिन्। सन् २०२४ मा माइक्रोनेसियासँगको यूएनडीपी सहकार्यअन्तर्गत पनि उनले वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गर्दै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन र सार्वजनिक क्षेत्रको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याएकी थिइन्।

यसअघि उक्याबले लगानी बोर्ड नेपालमै परामर्शदाताका रूपमा कार्य गर्दै ऊर्जा तथा पूर्वाधार क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने परियोजनामा समेत काम गरेकी थिइन्। उनका लेख तथा नीतिगत अध्ययनहरूमा आर्थिक वृद्धिसँगै मानव विकास, सामाजिक सुरक्षा, वातावरणीय दिगोपन, लैंगिक समानता र संकट सामना गर्ने राज्यको क्षमता सुदृढीकरणलाई विकासको अभिन्न पक्षका रूपमा जोड दिइएको पाइन्छ।

यता, सामाजिक सञ्जालमा भने याङ्कीलाई नेत्र विशेषज्ञ तथा बारबरा फाउण्डेसनका अध्यक्ष सन्दुक रुईतकी आफन्त भन्दै आलोचना गर्न थालिएको छ। स्रोतका अनुसार याङ्कीको पुर्ख्यौली घर ताप्लेजुङको ओलाङचुङगोला हो। हाल काठमाडौँकी वासिन्दा उनी तिब्बतका लागि पुर्वमहावाणिज्यदूत तथा पुर्वअञ्चलाधिश जोन्देन उक्याबकी छोरी हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट