सिराहाको घरमा कटुवा पेस्तोल फेला परेपछि होस्टेलमा बसिरहेका युवक काठमाडौँबाट पक्राउ
लहान— सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित एक घरबाट कटुवा पेस्तोल बरामद भएपछि प्रहरीले त्यसका मालिक भनिएका १८ वर्षीय मोहम्मद अफरोज राईनलाई काठमाडौँबाट पक्राउ गरेको छ। घरमा अवैध हतियार लुकाएर राजधानीको होस्टेलमा बसिरहेको सूचना पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारीका राईनले आफ्नै घरमा कटुवा पेस्तोल लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा बुधबार राति करिब सवा ९ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले खानतलासी गरेको थियो। सो क्रममा घरभित्रबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राईन काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित ‘२०२० ब्वाइज होस्टेल’ मा बस्दै आएको खुलेपछि प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरी उनलाई पक्राउ गरिएको हो। पक्राउपछि थप अनुसन्धानका लागि उनलाई सिरहा ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार बरामद गरिएको कटुवा पेस्तोल इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। हतियारको स्रोत, त्यसको प्रयोगको उद्देश्य तथा यससँग जोडिएका सम्भावित अन्य व्यक्तिको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले घटनामा प्रचलित कानुनबमोजिम थप अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म हतियार कुनै आपराधिक गतिविधिमा प्रयोग भएको वा हुन लागेको भन्नेबारे प्रहरीले औपचारिक रूपमा पुष्टि गरेको छैन।
सीमावर्ती जिल्ला सिरहामा अवैध हतियार बरामद हुने घटनाले सीमा क्षेत्रमा हुने हतियारको ओसारपसार तथा त्यसको सम्भावित सञ्जालबारे फेरि सुरक्षा चासो बढाएको छ। यद्यपि, यस घटनाको प्रकृति र सम्भावित उद्देश्यबारे निष्कर्षमा पुग्न अझै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

