पत्रकारको आवरणमा खैरो हेरोइन तस्करी, सिरहाका तीन जना पक्राउ परेपछि पत्रकार महासंघको कडा आपत्ति
लहान— पत्रकार परिचयपत्रको दुरुपयोग गर्दै खैरो हेरोइन ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा पक्राउ परेका एक व्यक्तिको साथबाट सञ्चारमाध्यमको प्रेस परिचयपत्रसमेत बरामद भएपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ मा बा.१६ च ७८४६ नम्बरको कार रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। सोही क्रममा कारमा सवार तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर गाउँपालिका निवासी २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम तथा लक्ष्मीपुर गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू सिरहाको मिर्चैयाबाट खैरो हेरोइन बोकेर काठमाडौंतर्फ जाँदै थिए।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार कार चालक उमेश यादवको साथबाट लहान–२२, सिरहा ठेगाना उल्लेख भएको ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको न्युज रिपोर्टर परिचयपत्र बरामद भएको छ। प्रहरीले उक्त परिचयपत्रको वैधानिकता, प्रयोगको उद्देश्य र त्यससँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार बरामद कार हुलास फाइनान्समार्फत किस्ताबन्दीमा खरिद गरिएको देखिएको छ। पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ।
घटनापछि नेपाल पत्रकार महासंघ सिराहा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारिताको नाम र प्रेस कार्डको आडमा हुने कुनै पनि गैरकानुनी गतिविधि अस्वीकार्य भएको स्पष्ट पारेको छ। महासंघले कुनै पनि सञ्चारमाध्यम वा प्रेस परिचयपत्र प्रयोग गरेर आपराधिक गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेको छ।
महासंघले पछिल्लो समय सिराहा जिल्लामा ‘जनजागरण खबर’ लगायत केही पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यम तथा युट्युब च्यानलको नाम प्रयोग गर्ने केही व्यक्तिले सरकारी तथा निजी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने, अनावश्यक दबाब सिर्जना गर्ने, पेट्रोल–डिजेल कुपनलगायत आर्थिक लाभ लिन खोज्ने तथा नेपाल–भारत सीमावर्ती सुरक्षा चौकीहरूमा प्रेस कार्ड देखाएर प्रभाव पार्न खोज्ने र शंकास्पद गतिविधिमा संलग्न रहेकोबारे पटक–पटक गुनासो प्राप्त भएको जनाएको छ।
महासंघले प्रेस कार्ड बोक्ने सबै व्यक्ति पत्रकार नहुने स्पष्ट गर्दै पत्रकारिता आचारसंहिता, जिम्मेवारी र व्यावसायिक मर्यादामा आधारित पेशा भएको उल्लेख गरेको छ। पत्रकारिताको आवरणमा हुने गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधिलाई संगठनले कुनै पनि अवस्थामा स्वीकार नगर्ने विज्ञप्तिमा उल्लेख छ।
सिराहा शाखाका अध्यक्ष मनोज बनता यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा निगरानी, निष्पक्ष अनुसन्धान र कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ। साथै, पत्रकारिताको नाम प्रयोग गरी गैरकानुनी गतिविधि गरेको पाइए त्यस्ता व्यक्तिको वास्तविक पत्रकारिता हैसियतसमेत छानबिन गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।
महासंघले स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै पत्रकारिताको आवरणमा अपराध गर्ने जोसुकैलाई कानुनको कठघरामा उभ्याउन राज्यका निकायसँग पूर्ण सहयोग र समन्वय गर्ने जनाएको छ।



