सद्भावको मञ्चमै विवादको राजनीतिः सांसदको अभिव्यक्तिले भाँडियो सभा, प्रहरीको घेरामा बाहिरिए तपेश्वर यादव
लहान— सुनसरी र सिरहामा भएका हिंसात्मक घटनापछि धार्मिक तथा सामाजिक विश्वास पुनःस्थापित गर्ने उद्देश्यले आयोजना गरिएको संयुक्त श्रद्धाञ्जली सभा केही मिनेटमै विवाद, आरोप–प्रत्यारोप र राजनीतिक टकरावको केन्द्रमा परिणत भयो। शान्ति, सहअस्तित्व र सद्भावको सन्देश दिन हिन्दु र मुस्लिम समुदाय एउटै मञ्चमा उभिएको कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मधेश प्रदेश सभापति तपेश्वर यादवको अभिव्यक्तिपछि तनावग्रस्त बनेको हो।
अवस्था यस्तो बन्यो कि प्रहरीले हस्तक्षेप गरेर सांसदलाई सुरक्षा घेरामा कार्यक्रमस्थलबाट बाहिर निकाल्नुपर्यो। गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा बिहीबार आयोजना गरिएको कार्यक्रम सुनसरीको देवानगञ्ज घटनापछि सिरहामा फैलिएको तनावका क्रममा ज्यान गुमाएका औरही गाउँपालिका–२ तुल्सीपुरका १५ वर्षीय गणेश यादवसहित मृतकहरूको सम्झनामा समर्पित थियो। आयोजकको उद्देश्य हिन्दु र मुस्लिम समुदायबीच बिग्रिएको विश्वास पुनःस्थापित गर्दै संयुक्त सद्भाव र्यालीमार्फत बन्द रहेका बजार पुनः सञ्चालन गर्ने वातावरण बनाउनु थियो।
कार्यक्रममा दुवै समुदायका नागरिक, उद्योगी–व्यवसायी, स्थानीय अगुवा, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। रास्वपाका सांसद तपेश्वर यादव र समानुपातिक सांसद सबिना मियाँ पनि कार्यक्रममा सहभागी थिए।
विवादको सुरुवात सांसद यादवको सम्बोधनबाट भयो। उनले सुनसरी र सिरहामा भएको हिंसात्मक घटनापछि सरकारमाथि लगाइएका आरोपलाई अस्वीकार गर्दै त्यसलाई सरकारविरुद्धको योजनाबद्ध राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरे। उनले हजारौँ मानिसको हत्या र हिंसाको इतिहास स्मरण गराउँदै दोष राज्यलाई मात्र दिन नहुने तर्क राखे।
उनले सम्बोधनका क्रममा भने, ‘यो देशमा हजारौं हजार मान्छेलाई कसले मारेको हो, जलाउने परिपाटी कसले सुरु गरेको हो ? एकले अर्कालाई उचाल्ने, दोष राज्यलाई लगाउने ? यो सरकारको विरुद्धमा सुनियोजित ढंगले भएको षड्यन्त्र हो, समाजका केही मान्छे र दलहरू बसेर गरेको षड्यन्त्र हो।’
यादवले आफ्नो मन्तव्यमा सुनसरी र सिरहाका घटनाको निष्पक्ष अनुसन्धान भइरहेको उल्लेख गर्दै गोली चल्नुपर्ने अवस्था नरहेको दाबी गरे। उनले घटनाका बेला ड्युटीमा रहेका प्रहरी निरीक्षक, तत्कालीन डीएसपी, प्रमुख जिल्ला अधिकारीलगायतको भूमिकामाथि अनुसन्धान भइरहेको दाबीसमेत गरे।
तर उनको अभिव्यक्ति कार्यक्रमको उद्देश्यसँग मेल नखाने भन्दै सहभागीमध्ये केहीले तत्काल आपत्ति जनाए। श्रद्धाञ्जली सभालाई राजनीतिक आरोप–प्रत्यारोपको मञ्च बनाउन नहुने भन्दै उनीहरूले मन्तव्य रोक्न आग्रह गरे। यद्यपि, यादवले सम्बोधन जारी राखेपछि कार्यक्रमस्थलमै दुई पक्षबीच भनाभन सुरु भयो र वातावरण तनावपूर्ण बन्यो।
स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि नेपाल प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षा घेरामा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो। त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कार्यक्रममा कुनै अप्रिय घटना नभएको दाबी गर्दै ‘विपक्षी दलहरू तिल्मिलाएका मात्रै हुन’ भन्ने प्रतिक्रिया दिए।
यादवको अभिव्यक्तिप्रति कार्यक्रममै सहभागी मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले कडा असन्तुष्टि व्यक्त गरे। उनका अनुसार कार्यक्रमको मूल उद्देश्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु र दुई समुदायबीच सद्भाव कायम गर्नु थियो। तर सांसद यादवले राजनीतिक भाषणमार्फत कार्यक्रमको वातावरण बिगारेको उनको आरोप थियो।
पूर्वसांसद यादवले भने, ‘यो कार्यक्रम श्रद्धाञ्जली र सामाजिक सद्भावका लागि गरिएको थियो। तर सांसद तपेश्वर यादवले राजनीति गर्न खोजेपछि कार्यक्रम भाँडियो। यहाँका नागरिकमाथि गोली चल्दा उहाँ बोल्नुभएन, अहिले आएर फेरि समाजलाई विभाजित गर्ने अभिव्यक्ति दिनुभयो।’
कार्यक्रममा सहभागी रास्वपाकी समानुपातिक सांसद सबिना मियाँले भने पूर्णतः भिन्न सन्देश दिइन्। उनले नेपाल सबै समुदायको साझा मुलुक भएको उल्लेख गर्दै विभाजनको मानसिकता त्यागेर सहकार्य, सहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउन सबै पक्षलाई आग्रह गरिन्।
अन्य वक्ताहरूले सुनसरी र गोलबजारका घटनामा राज्य संयन्त्रको समन्वय, संवेदनशीलता र सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको टिप्पणी गर्दै समयमै प्रभावकारी कदम चालिएको भए मानवीय क्षति टार्न सकिने धारणा राखे।
उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय सासका अनुसार संयुक्त श्रद्धाञ्जली सभापछि हिन्दु र मुस्लिम समुदायको संयुक्त सद्भाव र्याली निकाल्ने तथा बन्द रहेका पसल पुनः सञ्चालन गर्ने तयारी गरिएको थियो। साथै हिंसात्मक घटनाका क्रममा मुस्लिम समुदायका घर, पसल र व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गर्ने सहमति पनि भएको थियो। तर कार्यक्रममै विवाद उत्पन्न भएपछि पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएको उनले बताए।
एक स्थानीय व्यापारीका अनुसार कार्यक्रमपछि बजार सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको थियो। तर कार्यक्रममा भएको विवादपछि सहभागीहरू असुरक्षित महसुस गर्न थालेका छन् र आगामी अवस्था कस्तो हुन्छ भन्ने अन्योल सिर्जना भएको छ।
पृष्ठभूमिमा हेर्दा, साउन १० गते सुनसरीको देवानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव साउन १४ गते सिरहाको गोलबजारसम्म फैलिएको थियो। त्यसक्रममा सिरहाका गणेश यादव तथा सुनसरीका ओमप्रकाश महतो, जयप्रकाश महतो र रविन्द्र मेहताको मृत्यु भएको थियो। हिंसापछि गोलबजारमा मुस्लिम समुदायका घर, पसल, व्यवसाय तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको थियो, जसले दुई समुदायबीच अविश्वासको अवस्था झनै गहिरो बनाएको थियो।
यही पृष्ठभूमिमा आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रमले सामाजिक सम्बन्ध पुनःस्थापित गर्ने अपेक्षा गरिएको थियो। कार्यक्रमको अन्त्यमा दुवै समुदायका प्रतिनिधिहरूले विगतका तिक्तता बिर्सेर शान्तिपूर्ण सहअस्तित्व, आपसी विश्वास, सामाजिक एकता र कानुनी प्रक्रियामार्फत न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
तर, सद्भावको सन्देश दिन आयोजित एउटै कार्यक्रममा देखिएको राजनीतिक ध्रुवीकरणले एउटा गम्भीर प्रश्न भने छाडेको छ—सामाजिक घाउ निको पार्ने मञ्चहरू राजनीतिक आरोप–प्रत्यारोपको केन्द्र बन्दै गए भने प्रभावित समुदायबीच विश्वास पुनःस्थापित गर्ने प्रक्रिया कति सहज हुनेछ?

