बारीमा अम्बा टिप्न आएकी ४ वर्षीया बालिकाको इँटाले हानेर हत्या, यसरी पक्राउ परे ५९ वर्षीय छिमेकी
विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा चार वर्षीया बालिका कायानत खातुनको हत्यापछि एक महिनादेखि रहस्यमा रहेको घटनामा प्रहरीले महत्वपूर्ण सफलता हासिल गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा बालिकाकै छिमेकी ५९ वर्षीय जान मोहमद मन्सुरीले ‘आफ्नो बारीमा अम्बा खान आएको’ भन्दै इँटाले प्रहार गरी बालिकाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।
आरोपीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। मोरङ प्रहरीका अनुसार साउन ८ गते अपराह्नदेखि हराएकी जफारुल मियाँकी चार वर्षीया छोरी कायानत खातुनको शव सोही साँझ करिब साढे ७ बजे घरदेखि करिब दुई सय मिटर पूर्वतर्फ फेला परेको थियो। निधार र कन्चटमा गहिरो चोट देखिएको थियो, जसले घटनालाई सुरुदेखि नै शंकास्पद बनाएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय रंगेली, जिल्ला प्रहरी कार्यालय मोरङ तथा प्राविधिक टोलीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो। घटनास्थल, परिस्थितिजन्य प्रमाण, स्थानीय सूचनाहरू तथा अन्य तथ्यको विश्लेषणपछि अनुसन्धानको घेरा छिमेकी जान मोहमद मन्सुरीतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले बुधबार मन्सुरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानले बालिका मन्सुरीको बारीमा रहेको अम्बा खान पुगेको ठानेपछि उनले इँटाले प्रहार गरेको देखाएको छ। घटनापछि शवलाई घाँसीबारीमा लगेर फालिएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
एसपी कटवालले घटनाका सबै पक्ष अझै अनुसन्धानकै क्रममा रहेको उल्लेख गर्दै अहिले प्राप्त प्रमाणका आधारमा आरोपीविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको बताए। उनका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नाबालिका र आरोपीको घरबीचको दूरी करिब दुई सय मिटर मात्र छ। घटनाको दिन बालिका दिउँसो करिब ४ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा साँझ उनको शव घाँसीबारीमा फेला परेको थियो।
शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। त्यसपछि प्रहरीले घटनाको प्रकृति, घटनास्थल, सम्भावित उद्देश्य र संलग्न व्यक्तिहरूको खोजी गर्दै अनुसन्धानलाई तीव्र बनाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले यसअघि जारी गरेको आधिकारिक विज्ञप्तिमा पनि साउन २० गते जान मोहमद मन्सुरीलाई पक्राउ गरी जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप अनुमति लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जनाएको थियो।

