पिठ्युँमा क्यान्सरपीडित श्रीमती बोकेर सुनकोशीमा हामफालेका वृद्ध अझै बेपत्ता
काठमाडौँ– जीवनको उत्तरार्धमा रोगसँग लडिरहेका दुई वृद्ध। एकजना बोनम्यारो क्यान्सरले थलिएकी श्रीमती, अर्का प्रोस्टेट रोगको उपचारपछि शरीरमै पिसाबको थैली बोकेका श्रीमान्। वर्षौंदेखिको उपचार, अस्पतालका चक्कर र शारीरिक पीडापछि उनीहरूले रोजेको अन्तिम यात्रा भने अस्पताल होइन, सुनकोशी नदीको किनार बन्यो।
श्रीमानले आफ्नी अशक्त श्रीमतीलाई पिठ्युँमा बोकेर नदीमा हामफालेको प्रत्यक्षदर्शीको विवरण सार्वजनिक भएपछि यो घटना एउटा परिवारको मात्रै शोकमा सीमित नरही नेपालको स्वास्थ्य सेवा, दीर्घरोग व्यवस्थापन, मानसिक अवस्थाको पहिचान र वृद्ध दम्पतीको जीवनयापनबारे गम्भीर प्रश्न उठाउने घटनामा रूपान्तरण भएको छ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक बुधबार साँझ करिब साढे ६ बजे ६८ वर्षीय केदारनाथ पराजुलीले ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हामफालेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्। घटना भएको तेस्रो दिन हुँदासम्म दुवै जना बेपत्ता छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोर टोली, स्थानीयवासी र ड्रोनको सहायतामा व्यापक खोजी जारी रहे पनि कुनै अवस्था खुल्न सकेको छैन।
परिवारका अनुसार तिलकुमारी पराजुली दुई वर्षदेखि बोनम्यारो क्यान्सरसँग संघर्ष गरिरहेकी थिइन्। काठमाडौंस्थित सिभिल अस्पतालमा उनको उपचार गरिएको थियो र किमोथेरापीसमेत सुरु गरिएको थियो। तर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि किमोथेरापी रोकिएको थियो। त्यसयता उनी घरमै औषधि सेवन गर्दै आवश्यक पर्दा मण्डनदेउपुर नगर अस्पताल पुग्ने गर्थिन्। रोगका कारण उनी अपांगतासमेत भएकी थिइन् र दैनिक जीवनका धेरै काममा अरूको सहारामा निर्भर थिइन्।
यता श्रीमान् केदारनाथ आफैँ पनि प्रोस्टेट रोगबाट पीडित थिए। केही दिनअघि मात्रै उपचारपछि उनको शरीरमा पिसाबको थैली जडान गरिएको थियो। आफैँ गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका उनी आफ्नी श्रीमतीको हेरचाहमा पनि निरन्तर खटिँदै आएका थिए।
घटनाको दिन दुवै जना घरबाट निस्किएको परिवारलाई सुरुमा सामान्य लागेको थियो। छोराबुहारी काममा गएका थिए। साँझ फर्किँदा दम्पती घरमा थिएनन्। उनीहरू उपचारका लागि अस्पताल गएका होलान् भन्ने अनुमान गर्दै परिवारले मण्डनदेउपुर नगर अस्पतालमा सम्पर्क ग¥यो। तर उनीहरू त्यहाँ पुगेकै थिएनन्।
त्यसपछि खोजी गर्दा उनीहरूले ट्याक्सी प्रयोग गरेको जानकारी भेटियो। ट्याक्सी चालकले दिएको विवरणअनुसार दम्पतीले आफूहरू ‘धामी हेर्न जाने’ भन्दै दोलालघाटसम्म पु¥याउन आग्रह गरेका थिए। गन्तव्यमा पुगेपछि एक हजार रुपैयाँ भाडा तिरेर चालकलाई फर्काइदिएका थिए।
त्यसपछि घटनाले नाटकीय मोड लियो। दुलालेश्वर महादेव मन्दिरका पुजारीले केदारनाथलाई रोक्न खोज्दा पनि उनले श्रीमतीलाई पिठ्युँमै बोकेर सुनकोशी नदीमा हामफालेको जानकारी परिवारले प्राप्त गरेको भतिज प्रेम पराजुलीले बताएका छन्।
घटनापछि प्रहरीले तत्काल उद्धार तथा खोजी अभियान सुरु ग¥यो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोर, स्थानीय स्वयंसेवक तथा ड्रोनको प्रयोग गरेर खोजी गरिएको छ। खोजी कार्य शुक्रबार पनि निरन्तर जारी रहने उनले जानकारी दिएका छन्।
परिवार र स्थानीय जनप्रतिनिधिका अनुसार यो घटना आर्थिक अभावका कारण भएको भन्ने आधार भेटिएको छैन। मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले पराजुली परिवार आर्थिक रूपमा कमजोर नभएको बताएका छन्। दम्पतीका एक छोरा र तीन छोरी छन्।
यद्यपि, उनीहरूलाई यस्तो निर्णयसम्म पु¥याउने कारणबारे प्रहरीले औपचारिक निष्कर्ष निकालेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको र सबै पक्षको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले नेपालमा बोनम्यारो क्यान्सर उपचारको अवस्थालाई पनि पुनः चर्चामा ल्याएको छ। भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार बोनम्यारोसम्बन्धी क्यान्सर अत्यन्त जटिल, पीडादायी र खर्चिलो रोग हो। यसलाई मल्टिपल माइलोमा पनि भनिन्छ। नेपालका सरकारी अस्पतालमध्ये हाल काठमाडौंको सिभिल अस्पतालमा मात्रै यसको उपचार उपलब्ध छ। भक्तपुर क्यान्सर अस्पतालमा यस्तो सेवा छैन।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि बोनम्यारोसम्बन्धी सेवा सुरु गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार नेपालभर बोनम्यारोसम्बन्धी पाँचदेखि सात जना मात्रै विशेषज्ञ चिकित्सक छन्। स्पष्ट राष्ट्रिय नीति, पर्याप्त जनशक्ति र सेवा विस्तार नहुँदा धेरै बिरामी उपचारका लागि भारतलगायतका देश जान बाध्य हुने गरेका छन्।
नेपालमा बोनम्यारो क्यान्सरका बिरामीको आधिकारिक तथ्यांकसमेत उपलब्ध छैन। चिकित्सकहरूका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र रहेको बोनम्यारोले रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्स उत्पादन गर्छ। बोनम्यारोमा समस्या आएपछि यी कोषहरू उत्पादन हुन नसक्दा गम्भीर स्वास्थ्य जटिलता उत्पन्न हुन्छ र कतिपय अवस्थामा बोनम्यारो प्रत्यारोपण नै अन्तिम उपचार विकल्प बन्न सक्छ।
यद्यपि, भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी अघि बढाइरहेको छ। भवन, उपकरण र जनशक्ति विकासको काम जारी रहे पनि सेवा अझै सञ्चालनमा आएको छैन।
सुनकोशी किनारमा बेपत्ता भएका केदारनाथ र तिलकुमारी पराजुलीको खोजी अझै जारी छ। तर उनीहरूको घटनाले एउटा परिवारको व्यक्तिगत पीडाभन्दा पर गएर दीर्घकालीन रोगसँग बाँचिरहेका वृद्ध दम्पतीको मानसिक अवस्था, दीर्घकालीन उपचारको पहुँच, विशेषीकृत स्वास्थ्य सेवाको अभाव र सामाजिक सहाराको अवस्थाबारे गम्भीर बहस सुरु गराएको छ। प्रहरीले घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्रै पुष्टि हुने भएकाले त्यसअघिसम्म कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ।

