घरमै हजुरबुबा–हजुरआमाको हत्या, त्यसपछि विद्यालयमा अन्धाधुन्ध गोलीको वर्षाः ५ शिक्षकसहित ८ को मृत्यु

काठमाडौँ– थाईल्याण्डको राजधानी बैंककनजिकको नोन्थाबुरीस्थित डेब्सिरिन विद्यालयमा १४ वर्षीय एक विद्यार्थीले आफ्नै हजुरबुबा–हजुरआमाको हत्या गरेपछि विद्यालय पुगेर अन्धाधुन्ध गोली चलाउँदा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ। घटनापछि ती किशोरले आफैँमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विद्यालयमा १५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीका अनुसार घटनामा संलग्न विद्यार्थी विद्यालयको नौ कक्षामा अध्ययनरत थिए। अनुसन्धानबाट उनले विद्यालय जानुअघि आफ्नै घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेको खुलेको छ। त्यसपछि उनी हजुरबुबाको नाममा दर्ता रहेको ९ एमएम पेस्तोल लिएर विद्यालय पुगेका थिए। हजुरबुबा स्वयं शिक्षक रहेका थिए।

घटनास्थलमा पुगेपछि उनले विभिन्न कक्षाकोठामा प्रवेश गर्दै शिक्षकहरूलाई लक्षित गरेर गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विद्यालयभित्रको आक्रमणमा पाँच शिक्षकको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्। समग्र घटनामा विद्यालयभित्रका मृतक र घरमा मारिएका हजुरबुबा–हजुरआमासहित मृत्यु हुनेको संख्या आठ पुगेको हो।

घटनाबाट बाँच्न सफल सात कक्षाकी एक छात्राले बीबीसीसँग कुरा गर्दै आफू कक्षाकोठाभित्र रहेका बेला बन्दुकधारी विद्यार्थी एक कोठाबाट अर्को कोठातर्फ जाँदै गरेको देखेको बताइन्। उनका अनुसार ती विद्यार्थीले कक्षाकोठाको अगाडि उभिएका शिक्षकलाई गोली हानेका थिए। त्यसपछि आफूहरू त्रसित बनेर लुक्न बाध्य भएको उनले बताइन्।

अर्का एक विद्यार्थीले सुरुमा गोलीको आवाजलाई पटाका वा कुनै वस्तु ठोक्किएको जस्तो ठानेको बताए। तर लगातार गोली चलेपछि मात्रै विद्यालयमा वास्तविक आक्रमण भइरहेको थाहा पाएको उनको भनाइ छ।

गोलीकाण्डलगत्तै विद्यालयका सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो। घटनास्थल वरिपरि ठूलो संख्यामा प्रहरी, उद्धार टोली र एम्बुलेन्स परिचालन गरिएको थियो। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नजिकका कम्तीमा दुई विद्यालयले पनि निर्धारित समयभन्दा अगाडि नै कक्षा बन्द गरेका थिए।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालयजस्तो संवेदनशील स्थानमा यस्तो हिंसा हुनु अत्यन्त दुःखद भएको बताएका छन्। उनले घटनाको निष्पक्ष र विस्तृत छानबिन गरिने आश्वासन दिएका छन्।

उपगृहमन्त्री पोलापी सुवान्चावीका अनुसार प्रहरीले आरोपितको घरबाट संकलन गरेको प्रमाणले ती किशोर भिडियो गेम खेल्न अत्यधिक रुचाउने गरेको देखाएको छ। यद्यपि, प्रहरीले हालसम्म घटनाको प्रत्यक्ष उद्देश्य स्पष्ट भइनसकेको भन्दै सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।

विद्यालयका एक शिक्षकले भने ती विद्यार्थी पढाइमा राम्रो र व्यवहारमा पनि सामान्य रहेको उल्लेख गरेका छन्। उनका अनुसार यसअघि उनी आक्रामक स्वभावका थिए भन्ने कुनै संकेत विद्यालय प्रशासनले पाएको थिएन।

घटनापछि विपक्षी दल पिपुल्स पार्टीका नेता नथाफोङ रुएङपन्याउतले विद्यालयजस्तो सुरक्षित मानिने स्थानमा भएको यस्तो हिंसाले थाइल्यान्डको हतियार नियन्त्रण प्रणाली पुनरावलोकन गर्नुपर्ने आवश्यकता उजागर गरेको बताएका छन्। उनले बन्दुकसम्बन्धी कानुन, पहुँच र कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर समीक्षा गर्न सरकारसँग आग्रह गरेका छन्।

दक्षिण–पूर्वी एसियाका मुलुकहरूमध्ये थाइल्यान्डमा नागरिकसँग रहेको बन्दुकको संख्या तुलनात्मक रूपमा उच्च मानिन्छ। कानुन कडा भए पनि विगत केही वर्षयता विद्यालय तथा सार्वजनिक स्थानमा हुने गोलीकाण्डका घटनाले सुरक्षा प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्। यसअघि फेब्रुअरी महिनामा पनि दक्षिणी थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा प्रधानाध्यापक र एक छात्राको ज्यान गएको थियो।

यसपटकको घटनाले फेरि एकपटक विद्यालय सुरक्षा, किशोर मानसिक स्वास्थ्य, घरमै उपलब्ध हतियारको पहुँच र बन्दुक नियन्त्रण नीतिबारे थाइल्यान्डभर व्यापक बहस सुरु गराएको छ। प्रहरीले घटनाको उद्देश्य, मनोवैज्ञानिक पृष्ठभूमि तथा प्रयोग भएको हतियारसम्म ती किशोर कसरी पुगे भन्ने विषयमा विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट