‘बचाइहाल’ भन्दै फोन गरेका पूर्वमेयर सिंह ३६ घण्टादेखि सम्पर्कविहीन, प्रहरीले सुराकसमेत भेटेन
कपिलवस्तु — शुक्रबार साँझ कपिलवस्तुका पूर्वमेयर किरण सिंहले आफ्ना व्यावसायिक साझेदार बलराम तिवारीलाई फोन गरेर ‘बाबु, बचाइहाल–बचाइहाल’ भने। त्यसपछि फोन काटे। केही मिनेटपछि फेरि सम्पर्कको प्रयास भयो, तर उस्तै छोटो र आत्तिएको आवाज आयो। त्यसपछि सिंहसँगको सम्पर्क क्रमशः टुट्दै गयो। साँझ पौने ६ बजेपछि उनको मोबाइल पूर्ण रूपमा स्विच अफ भयो।
कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट कृषि फार्मतर्फ जाने भन्दै शुक्रबार बिहान निस्किएका ६५ वर्षीय सिंह त्यसयता बेपत्ता छन्। उनको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र गोरूसिंगे जंगलमा भेटिएको छ। प्रहरीले शनिबार पनि कुकुरसहित ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीय परिचालन गरेर खोजी जारी राखेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार सिंहको मोबाइलमा शुक्रबार बेलुका पौने ६ बजेसम्म सम्पर्क भएको थियो। त्यसपछि भने मोबाइल बन्द भएको पाइएको छ। यही तथ्यलाई आधार बनाएर प्रहरीले प्राविधिक अनुसन्धान अघि बढाएको छ।
सिंहले जंगलबाटै आफ्ना एक व्यावसायिक साझेदारलाई फोन गरेर आफू बाटो बिराएको र सहयोग आवश्यक रहेको बताएका थिए। प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट उनी कृषि फार्म खोल्ने तयारी भइरहेको क्षेत्रमा पुगेको पुष्टि गरेको छ।
त्यहाँ रिसोर्ट, बाख्रा तथा कुखुरा फार्म र माछापालनसहितको कृषि परियोजना सञ्चालन गर्ने तयारी थियो। सिंहसहितको साझेदारी समूहले पुराना संरचनालाई मर्मत गरेर नयाँ कृषि फार्म तथा रिसोर्ट सञ्चालन गर्ने योजना बनाएको प्रहरीको भनाइ छ। घटनाको सबैभन्दा महत्वपूर्ण सुराक भने सिंहले आफैं गरेको अन्तिम फोन सम्पर्क बनेको छ।
तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीका अनुसार शुक्रबार बेलुकी ५ बजेपछि संयोगवश सिंहलाई फोन गर्दा करिब १०–११ सेकेन्ड मात्र कुराकानी भयो। सिंहले ‘बाबु बचाइहाल–बचाइहाल’ भनेपछि फोन काटिएको तिवारीले बताए।
त्यसपछि तिवारीले अर्का एक व्यक्तिमार्फत सिंहलाई फोन गर्न लगाए। दोस्रोपटक पनि सिंहले आफूलाई उद्धार गर्न आग्रह गरेपछि तिवारी झस्किए। सोही क्रममा त्यहाँ कपिलवस्तु–१ का वडाध्यक्ष मुहम्मद जहिद खाँ पुगे। तिवारीले सिंह हराएको जानकारी दिएपछि खाँले सुरुमा त्यसलाई सामान्य ठट्टा ठानेका थिए। तर तिवारीले गम्भीर रूपमा कुरा दोहोर्याएपछि खाँले आफ्नै मोबाइलबाट सिंहलाई फोन गरे।
खाँका अनुसार उनले साँझ ५ बजेर ३२ मिनेटमा सिंहसँग सम्पर्क गरेका थिए। कुराकानी करिब २२ सेकेन्ड मात्र भयो। सिंह निकै आत्तिएको र स्वाँस फुलेको अवस्थामा सुनिएको खाँले बताए। सिंहले आफू घना जंगलमा हराएको र खोजीमा सहयोग गर्न आग्रह गरेपछि खाँले तत्काल इलाका प्रहरी कार्यालय गोरूसिंगेका प्रहरी निरीक्षकलाई जानकारी गराए। प्रहरी निरीक्षकले पनि सिंहलाई फोन गरेको र आफूहरू तत्काल आउन लागेको भन्दै नआत्तिन आग्रह गरेको खाँले बताए।
यद्यपि प्रहरी प्रमुख भट्टले सिंहले अन्य साझेदारसँग फोनमा कुरा गरेको पुष्टि गरे पनि प्रहरीसँग भएको भनिएको कुराकानीबारे भने आफूलाई जानकारी नभएको बताएका छन्। सिंहको खोजीका क्रममा प्रहरीले उनको घरबाट लगिएका पुराना कपडा कुकुरलाई सुँघाएर जंगल क्षेत्रमा खोजी अघि बढाएको छ। उनको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भने शुक्रबार नै जंगलमा रोकिराखेको अवस्थामा भेटिएको थियो।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार शनिबार ८० भन्दा बढी नेपाल प्रहरी, कुकुरसहित, तथा स्थानीय गरी एक सयभन्दा बढी व्यक्ति खोजीमा परिचालन भएका छन्। तर घनघोर जंगलमा व्यापक खोजी भइरहे पनि सिंहको अवस्था अहिलेसम्म अज्ञात छ।
प्रहरीका अनुसार सिंह प्रेसर र दमका बिरामी हुन् र धेरै हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको परिवारले जानकारी दिएको छ। यही कारण उनको हराइरहेको स्थान, अन्तिम फोन सम्पर्क र मोबाइल स्विच अफ भएको समयलाई प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार मानेको छ।
एसपी भट्टका अनुसार शुक्रबार राति मध्यरातसम्म पनि खोजी गरिएको थियो। तर कुनै उपलब्धि हात लागेन। शनिबार बिहानैदेखि पुनः प्रहरी, स्थानीय तथा तालिमप्राप्त कुकुर परिचालन गरेर खोजी तीव्र पारिएको छ।
यसैबीच सिंहको बेपत्ता घटनासँग जोडिएको कृषि परियोजनाको पाटोतर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। सिंह र उनका साझेदारहरू पुगेको भनिएको क्षेत्रमा पहिले नै केही पुराना संरचना थिए। ती संरचनाको मर्मत गरेर रिसोर्टसहित कृषि फार्म सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।
नेपाली कांग्रेसबाट निर्वाचित सिंहले पाँच वर्ष कपिलवस्तु नगरपालिकाको मेयरका रूपमा काम गरेका थिए। पछिल्लो समय उनी श्रीमतीसँग कपिलवस्तुमा बस्दै आएका थिए। उनका एक छोरा जापान र अर्का छोरा भारतमा रहेको परिवारले जनाएको छ।
प्रहरीले अहिलेसम्म सिंहको बेपत्ताको कारणबारे कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। जंगलमा हराएको अवस्थामा गरिएको अन्तिम फोन, केहीबेरमै मोबाइल स्विच अफ हुनु, जंगलमै मोटरसाइकल भेटिनु र उनको स्वास्थ्य अवस्थालाई जोडेर अनुसन्धान अघि बढाइएको छ।
सिंहको खोजी जारी रहे पनि उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस सुराक भेटिएको छैन। प्रहरीका लागि अहिले सबैभन्दा महत्वपूर्ण प्रश्न एउटै छ—‘बचाइहाल’ भन्दै फोन गरेका पूर्वमेयर सिंह त्यसपछि कहाँ पुगे?

