रात छिप्पिँदै गएपछि बालेनका ‘पूर्वसिपाही’ पाण्डेको स्टाटसः ‘नाङ्गै जन्मिएँ, नाङ्गै जल्नेछु’

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साहको अमूर्त फेसबुक स्टाटसलाई लिएर सामाजिक सञ्जालमा बहस र आलोचना चर्किरहेका बेला काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अर्को रहस्यमय स्टाटसले सामाजिक सञ्जाल तताएको छ।

पाण्डेले ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै छोटो अभिव्यक्ति लेखेपछि उनको पोस्टमा राजनीतिक व्यंग्यदेखि समर्थनसम्मका प्रतिक्रिया ओइरिएका छन्। पाण्डेको स्टाटसले भन्दा त्यसमा आएका प्रतिक्रियाले अहिलेको राजनीतिक असन्तुष्टिको अर्को चित्र देखाएको छ। धेरै प्रयोगकर्ताले उनको अभिव्यक्तिको भाव बुझ्न खोज्नुको साटो त्यसलाई उनको राजनीतिक भूमिका, विगतका गतिविधि र सार्वजनिक छविसँग जोडेर कटाक्ष गरेका छन्।

एक प्रयोगकर्ताले ‘के भयो आजै?’ भन्दै प्रश्न गरेका छन्। अर्काले ‘राति किन जल्नुपर्यो, बिहान उज्यालो हुने होइन र माननीयज्यू?’ भन्दै पाण्डेको ‘जल्ने’ प्रसंगलाई नै व्यंग्यको विषय बनाएका छन्। अर्को टिप्पणी झन् राजनीतिक थियो। ‘तपाईंलाई त सुकुम्बासीले गाड्ने कुरा पो गर्दै थिए, कता जल्ने भन्नुभा माननीयज्यू?’ भन्दै एक प्रयोगकर्ताले पाण्डेको विगतको राजनीतिक तथा प्रशासनिक भूमिकासँग जोडेर कटाक्ष गरेका छन्।

तर सबै प्रतिक्रिया आलोचनात्मक भने छैनन्। केही प्रयोगकर्ताले पाण्डेको अभिव्यक्तिलाई समर्थन गर्दै ‘साह्रै राम्रो कुरा’ र ‘तीतो यथार्थ’ भन्दै प्रतिक्रिया दिएका छन्। यसले उनको स्टाटसले फरक–फरक राजनीतिक धारणा बोकेका प्रयोगकर्तालाई आकर्षित गरेको देखाउँछ।

पाण्डेको राजनीतिक भूमिकामाथि प्रश्न उठाउने प्रतिक्रिया पनि आएका छन्। एक प्रयोगकर्ताले पदभन्दा प्रतिष्ठा ठूलो हुने भन्दै जनताको काममा केन्द्रित हुन सुझाव दिएका छन्। अर्काले भने छोटो स्टाटसलाई नै राजनीतिक व्यंग्यमा बदल्दै ‘देश जलायौ’ भन्ने टिप्पणी गरेका छन्।

यसरी हेर्दा पाण्डेको स्टाटसको बहस उनको लेखाइमा व्यक्त व्यक्तिगत भावनाभन्दा बाहिर पुगेर राजनीतिक व्यवहारको मूल्यांकनतर्फ मोडिएको छ। विशेषगरी रास्वपाबाट निर्वाचित जनप्रतिनिधिका सार्वजनिक अभिव्यक्ति र उनीहरूको विगतको भूमिकाप्रति सामाजिक सञ्जालमा बढ्दो असन्तुष्टि र व्यंग्यका रूपमा यी प्रतिक्रियालाई लिन सकिन्छ।

पाण्डेको यो अभिव्यक्तिको अर्को रोचक पक्ष भनेको यसको समय र राजनीतिक सन्दर्भ हो। प्रधानमन्त्री साहले अघिल्लो रात सामाजिक सञ्जालमा ‘एक्लै लड्नुपर्ने’ अवस्थाको संकेतसहित अमूर्त शैलीमा स्टाटस लेखेका थिए। उक्त अभिव्यक्तिको आशय र सन्देशलाई लिएर सामाजिक सञ्जालमा प्रश्न र आलोचना भइरहेका बेला पाण्डेले पनि रात छिप्पिएपछि उस्तै अमूर्त प्रकृतिको अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

पाण्डे र प्रधानमन्त्री साहबीचको राजनीतिक सम्बन्धको पृष्ठभूमि पनि यहीँ जोडिन्छ। साह काठमाडौँ महानगरपालिकाका मेयर हुँदा पाण्डे महानगर प्रहरी प्रमुख थिए। त्यसबेला पाण्डेले सार्वजनिक रूपमै आफूलाई बालेन्द्र साहको ‘सिपाही’का रूपमा प्रस्तुत गर्ने गरेका थिए।

त्यही राजनीतिक यात्राबाट अहिले दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचनामा छन्। साह प्रधानमन्त्रीको भूमिकामा छन् भने पाण्डे प्रतिनिधिसभा सदस्यका रूपमा संसदमा छन्।

त्यसैले पाण्डेको पछिल्लो स्टाटसलाई धेरैले सामान्य व्यक्तिगत अभिव्यक्तिका रूपमा मात्र हेरेका छैनन्। प्रधानमन्त्रीको अमूर्त स्टाटसपछि सत्तापक्षसँग जोडिएका अर्का प्रभावशाली पात्रबाट आएको उस्तै प्रकृतिको अभिव्यक्तिले सामाजिक सञ्जालमा थप राजनीतिक अर्थ खोज्ने वातावरण बनाएको छ।

तर पाण्डेले ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्नुको आशय के हो भन्नेबारे उनको स्टाटसमा कुनै स्पष्टीकरण छैन। उनले आफूले कुन प्रसंग, घटना वा राजनीतिक परिस्थितिलाई संकेत गरेर यस्तो लेखेको भन्ने पनि खुलाएका छैनन्।

यही अस्पष्टताले उनको पोस्टलाई व्यंग्यको थप सामग्री बनाएको देखिन्छ। एउटा छोटो वाक्यले स्पष्ट राजनीतिक सन्देश दिन खोजेको हो वा केवल व्यक्तिगत भावनाको अभिव्यक्ति हो भन्ने खुलिनसक्दा सामाजिक सञ्जाल प्रयोगकर्ताले आ–आफ्नै अर्थ लगाइरहेका छन्।

राजनीतिमा सामाजिक सञ्जाल अभिव्यक्तिको महत्वपूर्ण माध्यम बनेसँगै जनप्रतिनिधिका यस्ता छोटा र अमूर्त स्टाटस पनि राजनीतिक बहसको विषय बन्न थालेका छन्। तर जनप्रतिनिधिका अभिव्यक्तिको मूल्यांकन केवल शब्दबाट नभई उनीहरूको सार्वजनिक भूमिका, निर्णय र जनतासँगको व्यवहारबाट हुने भएकाले पाण्डेको स्टाटसमा आएको प्रतिक्रियाको मूल केन्द्र पनि अन्ततः त्यही देखिन्छ।

‘नाङ्गै जन्मिएँ, नाङ्गै जल्नेछु’ भन्ने पाण्डेको एक वाक्य अहिले सामाजिक सञ्जालमा आफ्नै राजनीतिक अर्थ बोकेर घुमिरहेको छ। तर यसको वास्तविक सन्देश के हो भन्ने प्रश्नको जवाफ भने स्टाटस लेख्ने पाण्डेले नै दिनुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट