विराटनगरमा युवती बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
विराटनगर– युवतीलाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। विराटनगर महानगरपालिका–१८ घर भएका २३ वर्षीय प्रहरी जवान आजाद मियाँलाई पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा बुधबार पक्राउ गरिएको हो।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार पक्राउ परेका मियाँविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।
मियाँ कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सञ्चार शाखामा दरबन्दी भएका प्रहरी जवान हुन्। उनी गत साउन ४ गतेदेखि उक्त शाखामा कार्यरत रहेको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको जाहेरीमा मियाँले विराटनगर महानगरपालिका–१७ घर भएकी युवतीलाई विभिन्न प्रलोभन देखाउँदै ललाइफकाइ बलात्कार गरेको आरोप लगाइएको छ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख गरिएका आरोपको विस्तृत अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक अवस्था अनुसन्धानबाट खुलेपछि मात्र यकिन हुने डीएसपी श्रेष्ठले बताए।
पक्राउ परेका मियाँमाथि अदालतबाट म्याद थप भइसकेकाले अब बयान, प्रमाण संकलन तथा घटनासँग सम्बन्धित अन्य पक्षमाथि आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

