सप्तरीमा लाठी र फलामे रडले कुटेर गहना लुटेको आरोपमा युवक पक्राउ

राजविराज– सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडकपुरमा एक व्यक्तिमाथि ज्यान मार्ने नियतले लाठी र फलामको रड प्रहार गरी घाइते बनाएको तथा उनको सुनका गरगहना लुटेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–१० खडकपुर टोलका अब्बु कुमार यादवलाई साउन २६ गते पक्राउ गरिएको हो। उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना २०८२ चैत २२ गते साँझ करिब साढे ५ बजे खडकपुर टोलमा भएको थियो। जाहेरवाला घरतर्फ जाँदै गरेका बेला यादवले एक्कासि आक्रमण गरी लाठी र फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप छ। कुटपिटबाट जाहेरवाला घाइते भएपछि यादवले उनले लगाएका सुनका गरगहनासमेत लिएर फरार भएको प्रहरीको भनाइ छ।

घटनापछि फरार रहेका यादवको खोजी गर्ने क्रममा प्रहरीले उनलाई बोदेबर्साइन नगरपालिका–१० खडकपुरबाटै फेला पारी नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा बोदेबर्साइन नगरपालिका–७ का करिब ५८ वर्षीय वीरेन्द्रप्रसाद यादवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेका अब्बु कुमार यादवलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनामा प्रयोग भएको भनिएको हतियार, लुटिएको गरगहना तथा घटनासँग सम्बन्धित अन्य प्रमाणबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट