‘निजी भ्रमण’ भन्दै पत्रकारको भिडियो डिलिट गराएका प्रधानमन्त्रीलाई एफएनजे अध्यक्षको प्रश्न– सुविधा राज्यको, भ्रमण निजी कसरी?

काठमाडौँ— प्रधानमन्त्री बालेन्द्र साहको पोखरा भ्रमणका क्रममा भिडियो खिचेका पत्रकारलाई सुरक्षाकर्मीले उक्त सामग्री हटाउन लगाएपछि प्रधानमन्त्रीको निजी गोपनीयता र प्रेस स्वतन्त्रताको सीमाबारे प्रश्न उठेको छ।

पत्रकार सुरेश सुनारका अनुसार पोखरामा प्रधानमन्त्री रहेको स्थाननजिकै खिचिएको भिडियो नेपाली सेनाको सुरक्षा टोलीको निर्देशनपछि उनले डिलिट गर्नु परेको छ। सुनारका अनुसार प्रधानमन्त्री साह मुस्ताङबाट पारिवारिक भ्रमणका क्रममा पोखरा आएको जानकारी पाएपछि उनले उनी रहेको स्थाननजिक पुगेर भिडियो खिचेका थिए। त्यसबेला उनीसँग पत्रकार सागरराज तिमिलसिना पनि रहेको उनले बताएका छन्।

भिडियो खिचिसकेपछि सुरक्षाकर्मी गाडी लिएर आफू भएतर्फ आएको र क्यामेरा अन्यत्र फर्काउन आग्रह गरेको सुनारको भनाइ छ। सुरक्षाकर्मीले प्रधानमन्त्रीको भ्रमण पारिवारिक तथा नितान्त व्यक्तिगत भएकाले खिचिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको उनले बताएका छन्।

सुरक्षाकर्मीको आग्रहलाई सम्मान गर्दै आफूले भिडियो हटाएको सुनारले बताएका छन्। तर पत्रकारले समाचार प्रयोजनका लागि खिचेको सामग्री सुरक्षा निकायको आग्रहमा हटाउन लगाइएको विषयले सार्वजनिक पदाधिकारीको निजी गोपनीयता र पत्रकारको समाचार संकलन गर्ने अधिकारबीचको सीमाबारे बहस निम्त्याएको छ।

‘निजी भ्रमण’ भन्दै पत्रकारको सामग्री हटाउन मिल्दैन : महासंघ
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकारले खिचेको भिडियो सुरक्षाकर्मीको अनुरोधमा डिलिट गराइएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपका रूपमा टिप्पणी गरेका छन्।

अधिकारीका अनुसार प्रधानमन्त्री सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनका सार्वजनिक गतिविधिमा सञ्चारमाध्यमको स्वाभाविक चासो रहन्छ। होटल, विमानस्थल, रेस्टुरेन्ट वा अन्य सार्वजनिक रूपमा पहुँचयोग्य स्थानमा प्रधानमन्त्री देखिँदा समाचारमूल्य भएका गतिविधि खिच्नु पत्रकारको पेशागत अधिकार भएको उनको भनाइ छ।

प्रधानमन्त्रीको निजी जीवन र गोपनीयताको सम्मान गर्नुपर्ने स्वीकार गर्दै अधिकारीले ‘निजी भ्रमण’ को नाममा सार्वजनिक चासोको समाचार सामग्रीमाथि सुरक्षा निकायले नियन्त्रण गर्न नहुने बताएका छन्।

पोखराको घटनालाई निन्दनीय भन्दै उनले पत्रकारले खिचेको फोटो तथा भिडियो सुरक्षा निकायबाट हटाउन लगाउने कार्यको प्रतिवाद गर्नुपर्ने बताएका छन्।

पदले मागेका सबै सुरक्षा सुविधा लिएपछि भ्रमण कसरी व्यक्तिगत?
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि घटनाप्रति आपत्ति जनाएकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले व्यक्तिगत भ्रमण भने पनि पदका कारण प्राप्त हुने सुरक्षा लगायतका सबै सरकारी सेवा–सुविधा प्रयोग गरेको अवस्थामा भ्रमणलाई पूर्णतः निजी भनेर पत्रकारले खिचेको सामग्री हटाउन लगाउनु उचित नभएको टिप्पणी गरेकी छिन्।

शर्माले सुरक्षा निकायबाट पत्रकारले खिचेको फोटो तथा भिडियो डिलिट गराउनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताएकी छिन्।

घटनामा पत्रकार सुनारले आफूलाई कुनै दुव्र्यवहार नभएको बताएका छन्। तर सुरक्षा निकायको आग्रहपछि समाचार प्रयोजनका लागि खिचिएको सामग्री नै हटाउनुपरेको तथ्यले भने सुरक्षाको नाममा पत्रकारको सामग्रीमाथि कति हदसम्म नियन्त्रण गर्न पाइन्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।

प्रधानमन्त्रीको निजी जीवन र व्यक्तिगत गोपनीयताको संरक्षण आवश्यक भए पनि सार्वजनिक रूपमा पहुँचयोग्य स्थानमा सार्वजनिक पदाधिकारीको गतिविधि समाचार प्रयोजनका लागि अभिलेख गर्ने पत्रकारको अधिकार र त्यसमा सुरक्षा निकायले गर्ने हस्तक्षेपको सीमा अबको बहसको मुख्य विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट