उदयपुरको बेलकामा अटो र स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, चालकसहित दुई महिलाको ज्यान गयो
गाईघाट — उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस ठोक्किँदा घाइते भएका अटो चालकसहित तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए।
घाइतेमध्ये बेलका–५ का २८ वर्षीय अटो चालक इन्द्र थापा, ३४ वर्षीया मन्दिरा मगर र बराहक्षेत्र नगरपालिका–४ की दिपा भन्ने दिया राईको मृत्यु भएको हो। सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस बिहान करिब पौने १० बजे जहडामा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका मन्दिरा मगर र दिया राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। उनीहरूलाई चिकित्सकले बिहान पौने १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईले जानकारी दिए।
अटो चालक इन्द्र थापा पनि दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनामा विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ सामान्य घाइते भएका छन् भने बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन्। दुवैको धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ। दुर्घटनामा संलग्न सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस र चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय विक्रम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले दुर्घटनाको कारण, सवारीको अवस्था तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरिरहेको छ।

