भोटेकोशी बाढीपछि प्रभावित जिल्लामा सम्पर्कविहीन आफन्तको विवरण दिन सप्तरी प्रहरीको अपिल

राजविराज– भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका प्रभावित क्षेत्रमा सप्तरीका स्थायी बासिन्दा पनि सम्पर्कविहीन हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले उनीहरूको विवरण उपलब्ध गराउन परिवारजनसँग आग्रह गरेको छ।

प्रहरीले रोजगारी, पर्यटन वा अन्य कामको सिलसिलामा ती जिल्लामा पुगेका र बाढीपछि परिवारको सम्पर्कमा नआएका व्यक्तिको खोजी तथा उद्धारका लागि नाम, ठेगाना, सम्पर्क नम्बर र हाल बसोबास गरिरहेको स्थानसहितको विवरण संकलन गर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख छ। सोही घटनाका कारण प्रभावित क्षेत्रमा रहेका सप्तरीका नागरिकको अवस्थाबारे जानकारी संकलन गरी खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न विवरण मागिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सप्तरीमा स्थायी ठेगाना भएका नागरिक रोजगारी, पर्यटन वा अन्य कामका क्रममा ती प्रभावित जिल्लामा पुगेका हुन सक्छन्। बाढीपछि परिवारसँग सम्पर्क हुन नसकेका त्यस्ता व्यक्तिको यकिन पहिचान र अवस्थाबारे जानकारी प्राप्त गर्न परिवारजन तथा आफन्तबाट विवरण संकलन गर्न लागिएको हो।

सम्पर्कविहीन व्यक्तिको नाम र थर, सप्तरीको स्थायी ठेगाना, सम्पर्क नम्बर तथा बाढीअघि वा हाल बसोबास गरिरहेको स्थानलगायतका विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ। उपलब्ध सूचनाले प्रभावित क्षेत्रमा रहेका सप्तरीका नागरिकको खोजी कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ।

प्रहरीले विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय सप्तरीको ९८५२८९०५०२ वा ९८५२८९०२७० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। त्यसैगरी प्रहरी निरीक्षक सुमन तामाङलाई ९८५१२८०८८१, प्रहरी नायब निरीक्षक प्रमानन्द ठाकुरलाई ९८५२६९०१४६ र प्रहरी जवान हुसेन लिम्बुलाई ९८५२८२४१३९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट