देश बाढीले डुब्दा रास्वपा नेतालाई मासुको चिन्ताः ‘८० किलोले पुगेन, मेरो भाग आएन?’
काठमाडौँ— रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले मानवीय क्षति र ठूलो भौतिक विनाश निम्त्याइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक केन्द्रीय सदस्यको सामाजिक सञ्जालमा आएको भिडियोले भने भिन्नै खालको वहस सुरु गरेको छ।
रास्वपाको शिक्षा विभागका केन्द्रीय सदस्य तोयनारायण पौडेलले काठमाडौँको धापासीस्थित सिन्धुली मासु पसलमा आफ्नो भागको मासु नपाएको भन्दै बनाएको भिडियो सार्वजनिक गरेपछि उनको अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा आलोचना भएको हो।
पौडेलले सार्वजनिक गरेको भिडियोमा मासु पसलमा ग्राहकको भीड देखिन्छ। उनी आफ्नो भागको मासु खोज्दै पसलमा कुरिरहेका छन्। भिडियोमा उनले ‘मासु पसलमा पनि भीडभाड, जनैपूर्णिमाको दिनमा पनि मान्छेलाई, नेपालीले चाडपर्व मान्ने हो’ भन्दै सोध्छन–‘८० किलोले पुगेन, मेरो भाग आएन ?’
सामान्य अवस्थामा चाडपर्वका बेला मासु पसलमा हुने भीडलाई लिएर गरिएको यो टिप्पणी त्यही समय सार्वजनिक भयो, जब देशको ठूलो भूभागमा विपद्का कारण नागरिकको जीवन अस्तव्यस्त बनेको छ। त्यसैले विवाद भिडियोमा देखिएको मासु वा चाडपर्व मनाउने विषयमा मात्र सीमित रहेन, विपद्को समयमा राजनीतिक दलका जिम्मेवार व्यक्तिले सार्वजनिक रूपमा कस्तो विषय र संवेदनशीलता प्रदर्शन गर्नुपर्छ भन्ने बहसमा पुग्यो।
पौडेलको भिडियोमुनि नारायण सापकोटाले गरेको टिप्पणीले यही असन्तुष्टिलाई प्रतिनिधित्व गर्छ। उनले लेखेका छन्, ‘देश रोइरहेको छ सर, यो मासुको भिडियो पोस्ट नगरेको राम्रो।’ भोटेकोशी हुँदै आएको भीषण बाढीले ठूलो जनधनको क्षति गराएको छ। बाढीका कारण नागरिक सम्पर्कविहीन भएका छन्, कतिपय परिवार आफन्तको अवस्थाबारे अनिश्चित छन् र प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम चुनौतीपूर्ण बनेको छ।
यस्तो अवस्थामा सरकारमा रहेको राजनीतिक दलका नेताकार्यकर्ताको सार्वजनिक गतिविधि र अभिव्यक्तिमाथि स्वाभाविक रूपमा बढी निगरानी हुने गर्छ। विपद्का बेला नेतृत्व तहसँग जोडिएका व्यक्तिको सामाजिक सञ्जालमा आउने सामग्रीलाई व्यक्तिगत रुचिको सामान्य अभिव्यक्तिभन्दा बाहिर गएर राजनीतिक आचरण र संवेदनशीलताको दृष्टिले हेरिने भएकाले पौडेलको भिडियो पनि आलोचनाको विषय बनेको देखिन्छ।
पौडेलले भिडियोमा मासु खानु वा जनैपूर्णिमामा चाडपर्व मनाउनु गलत भएको बताएका छैनन्। उनको भिडियोको विवादको केन्द्र भने विपद्को गम्भीर क्षणमा सार्वजनिक गरिएको सामग्रीको सान्दर्भिकता र त्यसले दिने सन्देश बनेको छ।
रास्वपा आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक राजनीतिक संस्कार र जवाफदेहिताको पक्षधरका रूपमा प्रस्तुत गर्दै आएको दल हो। त्यही दलको शिक्षा विभागसँग जोडिएका केन्द्रीय सदस्यको सार्वजनिक अभिव्यक्तिलाई लिएर उठेको प्रश्नले पार्टीका नेता तथा कार्यकर्ताले विपद्, सार्वजनिक संवेदना र सामाजिक सञ्जाल प्रयोगमा कस्तो संयम अपनाउने भन्ने विषयलाई पनि सतहमा ल्याएको छ।
यस घटनाले एउटा सामान्य सामाजिक सञ्जाल भिडियो कसरी समय, परिस्थिति र सार्वजनिक भूमिकाका कारण राजनीतिक सन्देशमा परिणत हुन सक्छ भन्ने देखाएको छ। देशको एउटा भूभाग बाढीको पीडामा रहेका बेला आफूलाई सरकारमा रहेको दलको प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने व्यक्तिको प्राथमिकता र सार्वजनिक अभिव्यक्तिबीचको दूरी कति हुनुपर्छ? अहिले उठेको मूल प्रश्न यही हो।
हालसम्म पौडेलको उक्त भिडियोबारे रास्वपाको औपचारिक धारणा सार्वजनिक भएको विवरण उपलब्ध छैन। पौडेल स्वयंले पनि आलोचनाबारे थप स्पष्टीकरण दिएको विवरण प्राप्त भएको छैन। तर, भिडियो भने अहिले उनको फेसवुकमा देखिँदैन।
@sheershakhabarnews.com विपदको वेलमा पनि रास्वपाका नेतालाई मासुको चिन्ता

