भोटेकोशी बाढीको कहरः रसुवामा शवको चाङ, ५० भन्दा बढी शव खोलाकिनारमै, राज्यको उपस्थिती देखिएन

काठमाडौँ– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासी पूर्व र पश्चिम गरी आठ जिल्लाबाट ती शव फेला परेको जनाएको हो।

बाढीबाट प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा नागरिक तथा सवारीसाधन सम्पर्कविहीन रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिएको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धारको कामसमेत जारी छ। प्रहरीको विवरणअनुसार रसुवाबाट ६४४ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट तीन जनाको उद्धार गरिएको छ। तर बाढीको प्रभाव, भौगोलिक कठिनाइ र सम्पर्क तथा सडक सञ्जालमा आएको अवरोधका कारण प्रभावित नागरिकको यकिन विवरण अझै संकलन हुन सकेको छैन।

यसैबीच नेपाल प्रहरीका २८ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जनाएको छ। उद्धार, खोजी तथा सुरक्षाका क्रममा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन भएपछि प्रभावित क्षेत्रमा उद्धार व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।

‘राज्यको उपस्थिति अनुभूति भएन’: स्थानीय जनप्रतिनिधि
रसुवाको बाढी प्रभावित क्षेत्रमा संघीय सरकारको उद्धार, राहत तथा उपचार कार्य प्रभावकारी रूपमा नपुगेको स्थानीय जनप्रतिनिधिले गुनासो गरेका छन्। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले विकट क्षेत्रमा राज्यको उपस्थिति जनताले अनुभूति गर्ने गरी नदेखिएको बताएका छन्।

अर्यालका अनुसार नदी किनारमा ठूलो संख्यामा शव अलपत्र अवस्थामा रहेका कारण दुर्गन्ध फैलिन थालेको छ। यसले संक्रमणको जोखिमसमेत बढाएको उनको भनाइ छ। उनले परिवारका सदस्यले पहिचान गरेका शवसमेत दाहसंस्कार गर्न स्थानीयस्तरमा खटिएका सुरक्षाकर्मीले ‘माथिको आदेश’ आवश्यक पर्ने बताउने गरेको गुनासो गरेका छन् । उनका अनुसार खोलाको किनारमा ५० भन्दा बढी शव देखिएको र शव व्यवस्थापन तत्काल गर्नुपर्ने अवस्था छ।

अर्यालले बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उल्लेख गर्दै कालिकास्थान क्षेत्रमा सीमित संख्यामा रहेका प्रहरी खाना–पानीको अभावमा काम गरिरहेको बताएका छन्। उनका अनुसार उनीहरूले सामान्य सुरक्षा व्यवस्थापनबाहेक थप काम गर्न कठिनाइ भइरहेको छ।

चार सयभन्दा बढी यात्रुवाहक गाडी बेपत्ता
बाढीले सडक र यातायात संरचनामा पु¥याएको क्षतिको वास्तविक आकार पनि विस्तारै खुल्न थालेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बाढीमा चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ।

महासंघमा विभिन्न यातायात कम्पनीबाट हालसम्म २१९ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता भएको विवरण प्राप्त भइसकेको महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताएका छन्। अन्य कम्पनीबाट विवरण आउने क्रम जारी रहेकाले संख्या अझ बढ्न सक्ने उनले बताए।

गौतमका अनुसार गोसाइँकुण्ड, मानसरोवर तथा रसुवा र नुवाकोटका विभिन्न गन्तव्यतर्फ यात्रु बोकेर गएका सवारीसाधन बाढीमा परेका छन्। मानसरोवरतर्फ तीर्थयात्री बोकेर गएका मात्रै करिब ४० वटा गाडी सम्पर्कविहीन छन्। ६० भन्दा बढी साना माइक्रोबससमेत हराएको प्रारम्भिक विवरण महासंघमा आएको छ।

यी सवारीसाधनमा कति यात्रु थिए भन्ने यकिन विवरण भने अझै प्राप्त भएको छैन। तर बेपत्ता भएका गाडीका चालक तथा सहचालकसमेत गरी चार सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान महासंघको छ।

यात्रुवाहक सवारीसाधनसँगै मालवाहक सवारीसाधनमा समेत बाढीले ठूलो क्षति पु¥याएको व्यवसायीहरूको प्रारम्भिक विवरण छ। महासंघका अनुसार बस र ट्रक गरी कुल नौ सयभन्दा बढी सवारीसाधन बाढीमा बेपत्ता भएको प्रारम्भिक अनुमान छ।

महासंघका महासचिव गौतमका अनुसार सामान लिन चीन प्रवेश गरेका करिब तीन सय ट्रक बाढीमा परेको व्यवसायीहरूले बताएका छन्। विभिन्न सडकखण्डमा रहेका अन्य मालवाहक सवारीसाधनसमेत बाढीमा बगेका छन्। सीमाक्षेत्रमा भन्सार पासका लागि रोकिएका करिब दुई सय मालवाहक गाडीसमेत बेपत्ता भएको व्यवसायीहरूको भनाइ छ।

महासंघले बेपत्ता सवारीसाधन तथा भएको क्षतिको यकिन विवरण संकलन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी सदस्य छन्।

महासचिव गौतमका अनुसार समितिले शुक्रबारदेखि प्रभावित क्षेत्रमै पुगेर बेपत्ता सवारीसाधन र क्षतिको विवरण संकलन तथा खोजी कार्य अघि बढाउनेछ। हालसम्म प्राप्त विवरण प्रारम्भिक भएकाले स्थलगत अध्ययनपछि मात्रै क्षतिको वास्तविक अवस्था खुल्ने महासंघले जनाएको छ।

खोजी, उद्धार र राहत जारी
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सरकारी संयन्त्रले खोजी, उद्धार, उपचार र राहतको काम जारी राखेका छन्। तर दुर्गम भूगोल, सडक तथा पुलमा भएको क्षति, सम्पर्कविहीन नागरिकको ठूलो संख्या र सुरक्षाकर्मीसमेत बेपत्ता भएको अवस्थाले उद्धार कार्य जटिल बनेको छ।

सरकारले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी राखेको जनाएको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा प्रभावित क्षेत्रको पहुँच अवस्थाबारे जानकारी संकलन गर्दै उद्धार र राहतलाई थप लक्षित बनाउने काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणमा उल्लेख छ।

प्रहरीले भने मृतक, बेपत्ता र उद्धार गरिएका व्यक्तिको विवरण अद्यावधिक गर्ने काम जारी राखेको जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट थप शव फेला पर्ने र बेपत्ताको अवस्था खुल्दै जाने क्रमसँगै मानवीय क्षतिको वास्तविक आकार अझ स्पष्ट हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट