क्यूआर विवादमा हर्कको पलटवारः पूर्वसचिव भीम उपाध्यायको हर्कत, साम्पाङले दिए साईबर व्युरोमा उजुरी

काठमाडौं — प्रधानमन्त्री राहत कोषका लागि सार्वजनिक गरिएको क्यूआर कोड सम्पादन गरेर आफ्नो पार्टीको क्यूआर राखेको भन्दै सामाजिक सञ्जालमा श्रम संस्कृति पार्टीको तिव्र आलोचना भएपछि अध्यक्ष हर्क साम्पाङले मुख खोलेका छन्।

साम्पाङले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले क्युआर सम्पादन गरी सामाजिक सञ्जालमा भ्रम फैलाएको र आफनो पार्टीको वदनाम गराएको आरोप लगाएका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत उपाध्यायले नै उक्त क्यूआर सम्पादन गरेको दाबी गर्दै आफ्ना समर्थकलाई उनलाई बहिष्कार र तिरस्कार गर्नसमेत आग्रह गरेका छन्।

साम्पाङले फेसबुकमा भिडियो सार्वजनिक गर्दै उपाध्याय आफ्नो पार्टीका ‘कट्टर विरोधी’ रहेको र विगतमा पनि पार्टीको क्यूआर कोड कपि गरेको आरोप लगाए। उनका अनुसार सरकारले राहत संकलनका लागि प्रधानमन्त्री राहत कोषको क्यूआर सार्वजनिक गरेपछि त्यसलाई सम्पादन गरी श्रम संस्कृति पार्टीको क्यूआर राख्ने काम उपाध्यायबाट भएको हो।

साम्पाङले भिडियोमा भनेका छन्, ‘सरकारले राहत संकलनका लागि प्रधानमन्त्री राहत कोष भन्ने किसिमले क्यूआर सार्वजनिक गरेको थियो। त्यसलाई एडिट गरेर श्रम संस्कृतिको क्यूआर लगाउने काम कसले गरेको रहेछ त भन्दा अरु कोही नभएर ढेडुमुखेले रहेछ।’

उनले उक्त सामग्रीकै आधारमा पार्टीका विरोधीहरूले श्रम संस्कृति पार्टीलाई लक्षित गरी विभिन्न आरोप लगाइरहेको दाबी गरेका छन्। क्यूआरसम्बन्धी सामग्री आफूहरूलाई बदनाम गराउने उद्देश्यले तयार गरिएको उनको आरोप छ।

साम्पाङले उपाध्यायलाई आफ्नो पार्टीको ‘कट्टर विरोधी’ भन्दै उनका सामग्रीलाई लिएर थप आक्रोश व्यक्त गरेका छन्। उनले आफ्ना समर्थकलाई उपाध्यायलाई बहिष्कार तथा तिरस्कार गर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘यो ढेडुमुखे हाम्रो कट्टर विरोधि हो। यसलाई बहिष्कार र तिरस्कार गरौँ।’ साथै, आफूले दाबी गरेको घटनाभन्दा अगाडि नै अरू कसैले त्यस्तो सामग्री सार्वजनिक गरेको भए प्रमाणसहित देखाउन चुनौतीसमेत दिएका छन्।

यसअघि पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री राहत कोषको क्यूआर भन्दै श्रम संस्कृति पार्टीको क्यूआर प्रयोग भएको विषय उठाएका थिए। उनले उक्त क्यूआरमार्फत अघिल्लो दिनदेखि अहिलेसम्म कति रकम संकलन वा उठाइएको हो भन्ने विषयमा तत्काल छानबिन हुनुपर्ने माग गरेका थिए।

उपाध्यायको यही पोस्टलाई लिएर साम्पाङले उक्त सामग्री आफूहरूको पार्टीलाई बदनाम गराउने उद्देश्यले तयार गरिएको दाबी गरेका हुन्। यस विषयमा आफुले उपाध्याय विरुद्ध साईबर व्युरोमा पनि उजुरी दिएको साम्पाङले जानकारी दिएका छन्। तर क्यूआर कोड वास्तवमा कसले सम्पादन गरेको हो, त्यसमा कुन खाताको विवरण जोडिएको थियो, उक्त क्यूआरमार्फत कुनै रकम संकलन भएको थियो वा थिएन र रकम संकलन भएको भए त्यसको परिमाण कति हो भन्ने विषयमा उपलब्ध सामग्रीमा आधिकारिक छानबिन वा प्रमाण सार्वजनिक भएको छैन।

त्यसैले साम्पाङ र उपाध्यायबीचको विवाद अहिले मुख्यतः सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबी र प्रतिदाबीमा सीमित देखिन्छ। क्यूआर कोडको स्रोत, सम्पादनको डिजिटल प्रमाण तथा त्यसबाट भएको सम्भावित आर्थिक कारोबारबारे सम्बन्धित निकायबाट औपचारिक विवरण सार्वजनिक भए मात्र विवादको वास्तविक तथ्य स्पष्ट हुने देखिन्छ।

राहतका नाममा सार्वजनिक गरिने क्यूआर कोड र त्यससँग जोडिएको बैंकिङ विवरणको विश्वसनीयता संवेदनशील विषय भएकाले यस्तो सामग्री कसले तयार ग¥यो र त्यसबाट आर्थिक कारोबार भयो वा भएन भन्ने विषयमा तथ्यगत अनुसन्धान आवश्यक देखिएको छ।

यद्यपी, उपाध्यायले हर्क साम्पाङ र उनको पार्टी लक्षित पोष्टहरु लगातार फेसवुकमा पोष्ट गर्दै आएका छन्। उनले दैनिक रुपमा कुनै न कुनै विषयमा हर्क सम्पाङलाई केन्द्रित गरेर आलोचनाहरु गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट