जेनजी अभियन्ता रक्षा बमको प्रधानमन्त्रीलाई अपिलः ‘संसारसँग सहयोग माग्नुस्, टनेलमा फसेका नागरिकको ज्यान जोगाउनुस्’

काठमाडौँ— रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धार कठिन बन्दै गएको भन्दै जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय समुदायसँग तत्काल अत्याधुनिक उद्धार उपकरण र विशेषज्ञ टोली माग्न अपिल गरेकी छिन्।

उनले सरकारको प्रतिष्ठा र राजनीतिक अडानभन्दा नागरिकको जीवन जोगाउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै आवश्यक सहयोग माग्न कुनै संकोच गर्न नहुने बताएकी छिन्। बमले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमार्फत रसुवाका सुरुङको प्रवेशद्वारमा ठूला ढुंगा र भग्नावशेष थुप्रिएका कारण उद्धार चुनौतीपूर्ण भइरहेको उल्लेख गरेकी छिन्।

उनका अनुसार त्यस्ता अवरोध हटाउन शक्तिशाली उपकरणसँगै ती उपकरण घटनास्थलसम्म पु¥याउन सक्ने क्षमताका हेलिकोप्टर आवश्यक देखिएका छन्। ‘प्रधानमन्त्रीज्यू, माग्नुस्। दिल खोलेर माग्नुस्। संसारसँग अपिल गर्नुस्। अत्याधुनिक उद्धार उपकरणहरू माग्नुस्,’ उनले लेखेकी छिन्।

जेनजी अभियन्ताका रूपमा पछिल्लो समय सार्वजनिक बहसमा सक्रिय बमले सुरुङभित्र रहेका नागरिकको उद्धारलाई तत्काल राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताएकी छिन्। उनले डोजर र ब्रेकरजस्ता भारी उपकरण बोक्न सक्ने हेलिकोप्टर तथा अन्य अत्याधुनिक उद्धार प्रविधिको आवश्यकता औँल्याएकी छिन्।

उनले सबै सुरुङमा एकैसाथ उद्धार कार्य अघि बढाउन नसकिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छिन्। बाढी तथा पहिरोबाट क्षतिग्रस्त संरचना र सुरुङका मुखमा जम्मा भएको भग्नावशेष हटाउन सामान्य उद्धार उपकरण पर्याप्त नहुन सक्ने उनको भनाइ छ।

बमले सरकारलाई उपलब्ध राष्ट्रिय क्षमताले नपुगेको अवस्थामा जुन देश वा संस्थासँग आवश्यक प्रविधि र उपकरण छन्, त्यहाँबाट सहयोग लिन आग्रह गरेकी छन्। उनको भनाइमा अहिले सरकारको प्राथमिकता सामाजिक सञ्जालमा उठिरहेका विषयको जवाफ दिनुभन्दा घटनास्थलमा रहेका नागरिकको उद्धार हुनुपर्छ।

उनले सरकारलाई लक्षित गर्दै लेखेकी छिन्, ‘सामाजिक सञ्जालमा जुन कुरा बढी उठ्यो, त्यतैतिर मात्र ध्यान दिएर ‘भित्तो कोपर्न’ नलाग्नुस्। बाढी खोलामा आएको हो, फेसबुकमा होइन।’ बमले सुरुङमा फसेका नागरिकलाई केवल संख्या वा तथ्यांकका रूपमा नहेर्न पनि आग्रह गरेकी छिन्। उनीहरू कसैका परिवारका सदस्य भएकाले बाहिर रहेका आफन्तहरू आफ्ना मानिसको अवस्थाबारे खबरको प्रतीक्षामा रहेको उनले उल्लेख गरेकी छिन्।

‘टनेलभित्र हाम्रा नागरिकहरू फसेका छन्। उनीहरू कुनै तथ्यांक होइनन्। उनीहरू कसैका सन्तान हुन्, कसैका परिवारका सदस्य हुन्,’ उनले लेखेकी छिन्। उनले उद्धारका लागि आवश्यक पर्ने जुनसुकै प्रविधि, उपकरण र विशेषज्ञ जनशक्ति तत्काल जुटाउन सरकारलाई आग्रह गरेकी छिन्। ठूला ढुंगा तथा भग्नावशेष हटाउने हेभी मेसिनरीदेखि विशेष उद्धार टोलीसम्म आवश्यकताअनुसार सहयोग माग्नुपर्ने उनको भनाइ छ।

रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा काम गर्ने तथा अन्य कारणले सुरुङभित्र रहेका नागरिकको अवस्था यकिन गर्न उद्धार टोली परिचालित छन्। बाढी र पहिरोका कारण पहुँचमार्गमा क्षति पुगेकाले उद्धार सामग्री तथा भारी उपकरण घटनास्थलसम्म पु¥याउनु चुनौतीपूर्ण बनेको छ।
यही कठिनाइलाई लक्षित गर्दै बमले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह गरेकी हुन्। उनले विशेषगरी भारी उपकरण बोक्न सक्ने हेलिकोप्टरको आवश्यकता औँल्याएकी छिन्। ‘जहाँबाट सम्भव हुन्छ, जुन देशसँग जुन अत्याधुनिक उद्धार प्रविधि र उपकरण उपलब्ध छन्, माग्नुस्,’ उनको अपिल छ।

उनले अन्तर्राष्ट्रिय सहयोग माग्दा नेपालको प्रतिष्ठा वा सार्वभौमिकता कमजोर नहुने तर्क गरेकी छिन्। बरु नागरिकको जीवन जोगाउन उपलब्ध सबै स्रोत परिचालन गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ। ‘सहयोग माग्दा देश सानो हुँदैन। नागरिक बचाउन संसारसँग हात फैलाउनु तपाईंको कमजोरी हुनेछैन, तपाईंको साहस हुनेछ,’ बमले लेखेकी छिन्।

जेनजी अभियन्ता बमको यो अपिल रसुवा बाढीपछि सरकारको उद्धार क्षमता र अन्तर्राष्ट्रिय सहयोग परिचालनबारे चलिरहेको बहसकै बीच आएको हो। विपद्को पहिलो चरणमै आवश्यक उपकरण र विशेषज्ञता जुटाउन नसक्दा उद्धारमा ढिलाइ हुन सक्ने भन्दै विभिन्न क्षेत्रबाट सरकारको ध्यानाकर्षण भइरहेको छ।

विशेषगरी सुरुङभित्र उद्धारका लागि सामान्य डोजर वा ब्रेकर मात्र पर्याप्त नहुने अवस्थामा उच्च क्षमताका उपकरण, सुरुङ उद्धारमा अनुभवी प्राविधिक तथा विशेष टोलीको आवश्यकता पर्न सक्छ। त्यस्ता उपकरण र जनशक्ति नेपालमै पर्याप्त नभए अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने हुन्छ।

बमको स्ट्याटसमा सरकारको उद्धार प्राथमिकतामाथि पनि प्रश्न उठाइएको छ। उनले सरकारलाई सामाजिक सञ्जालको तत्कालीन बहस र आलोचनामा केन्द्रित हुनुभन्दा घटनास्थलमा रहेका नागरिकको जीवन जोगाउने काममा केन्द्रित हुन आग्रह गरेकी छिन्। उनको अपिलको मूल सन्देश भने स्पष्ट छ—राज्यको प्रतिष्ठाभन्दा नागरिकको जीवन ठूलो हो।

यसैबीच सुरुङमा सम्पर्कविहीन रहेका नागरिकका परिवारहरू आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्। सुरुङभित्रको पहुँच, भग्नावशेष हटाउने कठिनाइ र आवश्यक उपकरणको अभावले खोजी तथा उद्धारमा चुनौती थपिएको छ। यस्तो अवस्थामा बमले सरकारलाई उपलब्ध राष्ट्रिय स्रोतले नपुगे अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोग माग्न आग्रह गरेकी हुन्।

अब प्रश्न सरकारको निर्णयमा छ—नेपालसँग उपलब्ध स्रोत र उपकरणले मात्रै उद्धार सम्भव छ कि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ? र यदि आवश्यक छ भने, त्यस्तो सहयोग जुटाउन ढिला गर्ने कि तत्काल माग्ने? रसुवाको सुरुङभित्र रहेका नागरिकका लागि यो प्रश्न राजनीतिक बहसको होइन, समयसँग जोडिएको जीवनको प्रश्न हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट