रास्वपा सचेतक धिताललाई नै चित्त बुझेन मन्त्रीको बोली : ‘स्थानीय तहलाई दोष होइन, सहारा चाहिन्छ’
राजविराज— विपद्का बेला स्थानीय तह सक्रिय नभएको वा संघीय सरकारसँग समन्वय नगरेको भन्दै आलोचना गर्नु उचित नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमाथि प्रतिवाद गरेकी छिन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले विपद्बाट प्रभावित स्थानीय तह स्वयं पनि क्षतिग्रस्त र पीडित हुने भएकाले काठमाडौँमा बसेर उनीहरूमाथि मात्र जिम्मेवारी थोपर्न नहुने बताएकी हुन्।
धितालले विपद् प्रभावित स्थानीय तहसँग सामान्य अवस्थामा जस्तो पूर्ण क्षमतामा काम गर्ने अपेक्षा गर्नु व्यवहारिक नहुने तर्क गरेकी छिन्। उनका अनुसार कतिपय स्थानीय तहको आफ्नै क्षेत्र बाढीले बगाएर बगरमा परिणत भएको अवस्थामा त्यही तहबाट तत्काल निर्णय लिन, राहत–उद्वार सम्हाल्न र अरूलाई परिचालन गर्न पूर्ण क्षमता अपेक्षा गर्नु उचित हुँदैन।
‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन,’ धितालले भनेकी छिन्।
उनले विपद्मा स्थानीय तह आफैं पीडित भएको अवस्थालाई संघीय सरकारले बुझ्नुपर्ने बताउँदै प्रश्न गरेकी छिन्, ‘हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’
धितालले विपद् प्रभावित प्रदेश र स्थानीय तहलाई कमजोरीका लागि कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई पुनः काम गर्न सक्ने अवस्थामा पु¥याउनु संघीय सरकारको दायित्व भएको बताएकी छिन्।
‘प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो,’ उनले भनेकी छिन्।
विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रतिस्पर्धाको नभई सहकार्यको बनाउनुपर्नेमा जोड दिँदै धितालले सरकारका विभिन्न तह एकअर्काका सहारा बन्नुपर्ने धारणा राखेकी छिन्। ‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौं,’ उनले भनेकी छन्।
धितालको यो भनाइ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद्को समयमा पालिका र वडा तहका संयन्त्रहरू स्वतः सक्रिय हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै असन्तुष्टि जनाएपछि आएको हो। मन्त्री लम्सालको उक्त अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला सत्तारुढ रास्वपाकी सचेतक धितालले प्रभावित स्थानीय तहको अवस्थालाई समेत ध्यानमा राखेर संघीय सरकारले व्यवहार गर्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।
विपद्को समयमा स्थानीय तहको भूमिका र संघीय सरकारसँगको समन्वयलाई लिएर मन्त्री र सत्तारुढ दलकी सचेतकबीच सार्वजनिक रूपमा फरक धारणा देखिएको छ।


