बाढीले घर बगायो, सोनु सुदले बोकेर ल्याए ‘घर बनाउने’ संकल्प

काठमाडौँ— विपत्तिपछि मानिसलाई सबैभन्दा पहिले चाहिन्छ सुरक्षित छानो। राहतका पोका, कम्बल र खाद्यान्नले केही दिनको संकट टार्न सक्छन्, तर बाढीले घर नै बगाएको परिवारका लागि जीवन सामान्य अवस्थामा फर्किनु भनेको फेरि एउटा घरबाट सुरु हुनु हो।

यही पीडाको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद नेपाल आए। नेपालमा हालै आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको योजना बनाउन सुद मंगलबार काठमाडौं आएका हुन्।

लायन्स क्लब्स इन्टरनेशनल र ‘खाल्सा एड’सँग सहकार्य गर्दै उनी नेतृत्वको ‘सूद च्यारिटी फाउन्डेसन’को टोलीले प्रभावित क्षेत्रमा पुगेर वास्तविक आवश्यकता पहिचान गर्ने काम थालेको छ। काठमाडौं आइपुगेपछि आयोजित पत्रकार सम्मेलनमा सुदले नेपालमा बाढीबाट घरबारविहीन भएका परिवारका लागि ‘एक घर बनाउने संकल्प’ अभियान अघि सारे।

उनको भनाइमा विपत्तिको समयमा राहत वितरण मात्रै पर्याप्त हुँदैन, मानिसलाई पुनः आफ्नो खुट्टामा उभिने आधार पनि दिनुपर्छ। भारतको पञ्जाबमा बाढी आउँदा आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरेको उदाहरण दिँदै उनले नेपालमा पनि आवश्यकता पहिचान भएका स्थानमा घर निर्माणको काम अघि बढाउने बताए।

‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सुदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितहरूको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’

उनका लागि नेपाल भ्रमण केवल काठमाडौंमा पत्रकार सम्मेलन गरेर सकिने औपचारिक कार्यक्रम बनेन। बुधबार उनी मुम्बईबाट आएको सहायता टोलीसहित भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट पुगे। प्रभावित बस्तीमा पुगेर क्षतिको अवस्था बुझ्नुका साथै आगामी सहयोगका सम्भावित क्षेत्र पहिचान गर्न उनले स्थलगत भ्रमण थालेका हुन्।

यसअघि काठमाडौंकै एउटा गुम्बामा आश्रय लिएर बसेका बाढीपीडितलाई पनि उनले भेटेका थिए। विशेषगरी त्यहाँ आश्रय लिएका बालबालिकासँग भेट गरेको तस्वीर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। विपत्तिबाट विस्थापित परिवारसँग प्रत्यक्ष भेट गरेर उनीहरूको अवस्था बुझ्ने उनको अभियानको यो प्रारम्भिक चरण हो।

सुदका अनुसार उनको संस्था, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले राहतको आवश्यकता आफैँ मूल्यांकन गरिरहेको छ। कुन क्षेत्रमा तत्काल के चाहिएको छ र कहाँ दीर्घकालीन पुनर्स्थापना आवश्यक छ भन्ने पहिचानपछि सहयोगको प्राथमिकता निर्धारण गरिने उनको भनाइ छ।

तत्कालका लागि भारतबाट दुई हजार थान कम्बलसहित लत्ताकपडा, सुक्खा खाद्यान्न र महिला स्वास्थ्य सामग्री नेपाल पठाइसकिएको उनले जानकारी दिए। तर उनको प्राथमिकता तत्कालीन राहतमा मात्र सीमित छैन। नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा पुगेर शिक्षा, स्वास्थ्य र आवासको अवस्थाबारे अध्ययन गरी दीर्घकालीन सहयोगको योजना बनाउने तयारी उनले सुनाएका छन्।

नेपालसँग आफ्नो व्यक्तिगत सम्बन्ध पनि रहेको सुदले बताए। मुम्बईमा पछिल्लो २५ देखि ३० वर्षदेखि आफूसँग काम गरिरहेका अधिकांश मानिस नेपाली रहेको उल्लेख गर्दै उनले नेपालीको मिहिनेती स्वभाव र आत्मबलको प्रशंसा गरे।

विपत्तिले ठूलो क्षति पुर्‍याएको अवस्थामा समेत नेपालीले देखाएको धैर्यता र मुस्कानले आफूलाई प्रभावित बनाएको उनको भनाइ थियो। त्यसैले नेपाल आउनुको उद्देश्य राहत सामग्री हस्तान्तरण गरेर फर्किनुभन्दा प्रभावित नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको पुनर्स्थापनामा सम्भावित योगदान खोज्नु रहेको उनले बताए।

सुदको नेपाल आगमनको अर्को पाटो वातावरणसँग जोडिएको छ। उनले पछिल्ला वर्षमा विश्वका विभिन्न क्षेत्रमा बढिरहेका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिलाई जलवायु परिवर्तन र वातावरणीय असन्तुलनसँग जोडेर हेर्नुपर्ने धारणा राखे।

प्रकृतिको अनियन्त्रित दोहन तथा वनजङ्गल फडानीले यस्ता विपत्तिको जोखिम बढाइरहेको उल्लेख गर्दै उनले भावी पुस्तालाई सुरक्षित राख्न अहिलेबाटै वातावरण संरक्षणमा गम्भीर हुनुपर्ने बताए। नेपालको पछिल्लो बाढीले हजारौँ नागरिकको जीवन, घर, पूर्वाधार र जीविकोपार्जनमा गहिरो असर पारेको अवस्थामा सुदको प्रस्ताव तत्काल राहतभन्दा एक कदम अगाडिको पुनर्स्थापनातर्फ केन्द्रित देखिन्छ।

कम्बल र खाद्यान्न तत्कालको आवश्यकता हुन, तर बाढीले घर बगाएको परिवारका लागि स्थायी समाधान भने पुनः सुरक्षित घर निर्माण, बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु हो।

त्यसैले सुदले अघि सारेको ‘एक घर बनाउने संकल्प’ अभियानको वास्तविक परीक्षा पनि अब प्रभावित क्षेत्रमा पुगेर सुरु हुनेछ। स्थलगत आवश्यकता पहिचान, सही परिवारको छनोट, निर्माणको पारदर्शिता र दीर्घकालीन व्यवस्थापन गर्न सके मात्रै उनको नेपाल सहयोग अभियानले राहतभन्दा परको अर्थ राख्नेछ।

उनले विश्वभर छरिएर रहेका समुदायलाई पनि नेपालको विपत्तिमा सहयोगका लागि अघि आउन आह्वान गरेका छन्। सुदको सन्देश स्पष्ट छ— विपत्तिमा सहयोग भनेको केवल सामग्री पठाउनु होइन, संकटमा परेका मानिसलाई फेरि आफ्नो जीवन निर्माण गर्ने अवसर दिनु पनि हो।

नेपालमा उनको टोलीले सुरु गरेको स्थलगत अध्ययनले अब कुन क्षेत्रमा कस्तो सहयोग पुग्छ भन्ने तय गर्नेछ। त्यसको केन्द्रमा भने तत्कालको राहतसँगै बाढीले खोसेको घर, शिक्षा, स्वास्थ्य र आशाको पुनर्निर्माण रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *