आन्दोलनमा जाँदै गरेका शिक्षक सवार जीप दुर्घटना हुँदा गर्भवतीसहित १० जना घाईते

राजविराज– आन्दोलन गर्न काठमाडौं जाँदै गरेका शिक्षक सवार विद्युतीय भ्यान शुक्रबार बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाईते हुनेमा दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका– १० की गर्भवती ४० वर्षीया गार्की बस्नेत सहित राहत, करार र बालविकास शिक्षकहरु छन्। उनीहरु मध्ये कमलामाई नगरपालिका– १ घर भएका ३४ वर्षीय मुकुन्द थापासहित तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए।
घाइतेको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। प्रहरीका घाईते अधिकांश कमलामाई नगरपालिकाका छन्। अन्य घाईतेहरुमा कमलामाई नगरपालिकाका नीरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका–१० का राजन कार्की छन्।
घाईते भएका सबैलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मधेश प्रदेश ००१ ज ००६२ नं को उक्त भ्यान तीव्र गतिका कारण शुक्रबार बिहान अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा खसेको थियो। चालक कमलामाई नगरपालिका–८ का तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।