१९ वर्षअघि हजुरआमाको हत्या गरी फरार भएका तोयनाथ साधुको भेषमा पक्राउ
भरतपुर– १९ वर्षअघि हजुरआमाको हत्या गरी फरार भएका चितवनका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर २८, मेघौली घर भएका कृष्ण भनिने तोयनाथ चापागाइँलाई घटनाको १९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
साधुको भेषमा लुकेर बसेका उनीमाथि भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरेको आरोप छ। चापागाईलाई नवलपुरको वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट भेष बदलेर साधु बनेको अवस्थाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनले ०६१ साल मंसिर १४ गते आफ्नै सौतेनी आमाकी आमाको हत्या गरेका थिए। सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले हानेर हजुरआमाको हत्या गरि कानमा लगाएको गहना लुटेर उनी फरार भएका थिए।
प्रहरीले सोही समयमा हजुरआमाको हत्या गर्ने चापागाई नै हुन् भन्ने पहिचान गरे पनि उनी फरार भएकाले घटनाको न्यायिक प्रक्रिया अघि बढेको थिएन । घट्ना हुँदा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।
चितवन प्रहरीका डिएसपी विजयराज पण्डितले पक्राउ परेका चापागाईंलाई चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सौतेनी हजुरआमाले आफू र आफ्नी आमाबारे होच्याएर बोल्ने गरेको झोँकमा मादक पदार्थ सेवन गरी हत्या गरेको उनले स्वीकार गरेका छन्।