स्वास्थ्यकर्मी दाजुको खेताला भएर भाईले उपचार गर्दा बालकको मृत्यु
कैलाली– कैलालीमा क्लिनिक सञ्चालकको लापर्वाहीले एक बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचाररत स्थानीय भरत ऐरका ४ वर्षीय छोरा सम्राट ऐरको मृत्यु भएको हो ।
बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ। बालकको उपचार गर्ने धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका नविन धामी र क्लिनिक सञ्चालक दिनेश धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
दिनेशले आफ्नो अनुपस्थितिमा बालकलाई सुई लगाउन भाई नविनलाई अह्राएको प्रहरीको भनाइ छ। ज्वरो आएपछि उपचारका लागि मंगलबार साँझ साढे ६ बजे क्लिनिक लगिएका ऐरलाई क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविनलेसुई लगाएका थिए।
सुई लगाएपछि अचेत भएका बालकलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालकको मृत्यु भईसकेको थियो। अहिले धामी दाजु भाइविरुद्ध इलाज सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए।