बालकुमारीमा प्रदर्शकारी युवाले मन्त्रीको गाडीमा आगजनी गरेपछि गोली चल्यो, १ जनाको मृत्यु
काठमाडौं– इपीएस (रोजगार अनुमति प्रणाली) परीक्षा दिन नपाएका युवाले बालकुमारीमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
गोली लागेर गम्भिर घाईते भएपछि उपचारका लागि किस्ट अस्पतालमा लगिएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो। घाईते अर्का एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एआईजी दिपक थापाले बताए।
प्रदर्शनकारीले सुरुमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर हावा खुस्काई दिएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।
त्यसपछि प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्याँस हानेको थियो। स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरिएको जनाईएको छ। मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको र स्थिति नियन्त्रणमा लिन गोली चलाईएको प्रहरीको भनाई छ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपीएस कार्यालयले जनाएको थियो। परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न पनि नपाउने यो निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। तर, इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। अरु युवाहरुले फर्म भर्न नपाउने स्थिति भएपछि प्रदर्शन सुरु भएको हो।