डोलीमा चढने अघिल्लो दिन रन्जुलाई अर्नाले चितामा पुर्यायो
राजविराज– विवाहको एक दिनअघि अर्नाको आक्रमणमा परी वेहुलीको मृत्यु भएपछि सुनसरीको कोशी गाउँपालिका ३, कोशी टप्पुको मुखिया परिवार शोकमा डुबेको छ। सोमबारका लागि विवाह निर्धारण गरी सम्पूर्ण तयारी पुरा गरेपछि आईतबार गुलाबी मुखियाकी कान्छि छोरी रन्जुकुमारीको मृत्यु भएको हो।
घरबाट डेढ किलोमिटर पश्चिम कोशी किनारमा घाँस काट्न पुगेकी उनलाई अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए। उनका अनुसार घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गर्न नछाडेका कारण रन्जुको घटना स्थलमै निधन भएको हो।
रन्जुको मृत्यु भएको खबरले गाउँमा हल्लाखल्ला भयो। निम्ता बाँडेर भर्खरै घर पुगेका गुलाबी मुर्छा परेर ढले। विवाहका लागि ठिक्क पारेकी छोरीको वियोगले अहिले उनलाई सताएको छ। डोलीमा चढाउनु पर्ने छोरीलाई चितामा चढाउनु परेको भन्दै उनले विलौना गरिरहेका छन्।
स्थानीयका अनुसार रन्जुको विवाह सप्तरीको कञ्चनरुप नगरपालिकाकाका ५, पथ्रीमा हुन लागेको थियो। ५ सन्तानका पिता गुलावीले १२ वर्षअघि नै श्रीमती गुमाएका थिए। अव उनका ३ छोरा र १ छोरी छन्। माछा मारेर परिवार पाल्दै आएका उनले अहिले दोस्रो विवाह गरेका छन्।
सुनसरी प्रहरीले भने घट्नाको जानकारी नै नआएको जनाएको छ।