गृहमा एमाले र रास्वपाको तानातान, प्रधानमन्त्रीले भने– तपाईहरु नै कुरा मिलाउनोस

काठमाडौं– सत्ता गठवन्धन परिवर्तन गरेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले ३ जना विनाविभागिय मन्त्री आजै (सोमवार) नियुक्त गर्ने बताएका छन्।

दाहालले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका छन्।

जानकारी अनुसार नेताहरुबीच गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ। त्यो आधारमा अघि वढ्दा रास्वपाका सभापति रवि लामिछाने पुनः गृहमन्त्री बन्ने बाटो खुलेको छ। १० पुस ०७९ पुस १० गते एमालेको समर्थनमा दाहाललाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति लामिछाने उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा थिए।

त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन। तर, रविलाई गृहमन्त्रालय दिन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल दुवै तयार देखिएका छैनन्।

नयाँ मन्त्री मण्डलमा माओवादीका वर्षमान पुनलाई अर्थ र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ। त्यसैले एमालेले गृहमन्त्रालय लिने योजना बनाएको छ। विकसित पछिल्ला घटनाक्रम देखाएर गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको एक नेताले वताए।

गृह मन्त्रालयमा टुंगो लागिनसकेकै कारण रास्वपाबाट पार्टीका उपसभापति डीपी अर्याललाई शपथ गराउने निर्णय गरेको छ। प्रधानमन्त्री दाहालले पनि रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन्। गतवर्ष पनि दाहालले नचाहाँदा नचाहँदै ओलीको दबावमा उनी गृहमन्त्री बनेका थिए।

गृहमन्त्री भएको एक महिनामै नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रकिया नमिलेको भन्दै अदालतले उनले निर्वाचनमा पेश गरेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने पदमुक्त भएका थिए। पछि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गरेपछि उनी निर्वाचन लडेर पुनः प्रतिनिधि सभामा आएका थिए।

प्रतिनिधि सभा सदस्य बनिसकेपछि पनि उनी सरकारमा सहभागी हुन नखोजेका हैनन्। तर दाहालले गृह नदिएपछि उनी प्रतिपक्षमै बसे।

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट