‘यसरी कहिलेसम्म चलाउनुहुन्छ ?’ भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यशैलीप्रति रवि लामिछानेसँग असन्तुष्टि जनाएपछि…

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साहले पार्टी सभापति रवि लामिछानेसँग पाँच घण्टा लामो छलफल गरे पनि राष्ट्रप्रमुखसँग सामान्य शिष्टाचारसमेत पूरा नगरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्। भारत भ्रमणअघि राष्ट्रपतिलाई भेट्न आवश्यक नठानेका प्रधानमन्त्री साहले फर्किएपछि पनि तत्काल भेट नगरेको, तर पार्टी सभापतिसँग लामो संवाद गरेको घटनाक्रमले राष्ट्रपति र प्रधानमन्त्रीबीचको सम्बन्धमा दूरी बढेको संकेत गरेको छ।

शुक्रबार शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री साहलाई लोकतान्त्रिक संस्थाहरूको महत्व र संवैधानिक मर्यादाबारे सम्झाएका थिए। सामान्य शिष्टाचारका विषयमा समेत राष्ट्रपति संस्थालाई बेवास्ता गर्ने र संसद्लाई छलेर अध्यादेश ल्याउने कार्यशैलीले लोकतान्त्रिक संस्थाहरू कमजोर हुने उनको भनाइ थियो।

राष्ट्रपति कार्यालयसम्बद्ध उच्च स्रोतका अनुसार पौडेलले संविधानअनुसार राष्ट्रपति कार्यालय सर्वोच्च संवैधानिक संस्थामध्ये एक रहेको स्मरण गराउँदै त्यसको सम्मान गर्नु प्रधानमन्त्रीको पनि दायित्व भएको बताएका थिए। लोकतान्त्रिक पद्धतिमा संस्थाहरूलाई महत्व दिँदा मात्रै लोकतन्त्र बलियो हुने उनको जोड थियो।

तर, आफ्नो कार्यशैलीप्रति राष्ट्रपतिले सुरुमै असन्तुष्टि व्यक्त गर्दा पनि प्रधानमन्त्री साहले त्यसको जवाफ नदिएको स्रोतको दाबी छ। प्रधानमन्त्रीले भने भारत भ्रमणका उपलब्धि र राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको विषयबाट आफ्नो भनाइ सुरु गरेका थिए।

प्रधानमन्त्री साहले मंसिर ६ र ७ गते गरेको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भएका सहमति, आर्थिक सहयोगको प्रतिबद्धता तथा भैरहवा हवाई रुटसम्बन्धी विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीले भ्रमणका उपलब्धिबारे ब्रिफिङ गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीले सरकारले सिफारिस गरेका अध्यादेशहरू जारी गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका थिए। अध्यादेशको आवश्यकता र औचित्यबारे आफूलाई पर्याप्त जानकारी नगराइएको भन्दै राष्ट्रपति पौडेलले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ। तर, सरकारले अत्यावश्यक ठानेरै अध्यादेश सिफारिस गरेको भन्दै प्रधानमन्त्रीले ढिलाइ नगरी प्रमाणीकरण गरिदिन आग्रह गरेका थिए।

सरकारले केही दिनमै संसद्को हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी गरिरहेकाले पनि अध्यादेश जारी गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए। यद्यपि, राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशबारे दुवैबीच सहमति बनेको विवरण सार्वजनिक भएको छैन।

राष्ट्रपति कार्यालयमा अहिले तीनवटा अध्यादेश विचाराधीन छन्। तीमध्ये प्रेस काउन्सिल नेपाल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग गठनसम्बन्धी अध्यादेश छन्।

राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले पनि राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट अध्यादेशकै विषयमा केन्द्रित रहेको बताएका छन्। यसले प्रधानमन्त्री र राष्ट्रपतिबीचको संवादमा केवल शिष्टाचारको विषय मात्रै होइन, सरकारको अध्यादेश ल्याउने शैली र त्यसको औचित्यसम्बन्धी असमझदारी पनि रहेको देखाउँछ।

तर, शुक्रबारको भेटसम्म आइपुग्दा राष्ट्रपतिसँग प्रधानमन्त्रीको दूरी कसरी बढ्यो भन्ने घटनाक्रम अझ रोचक छ। प्रधानमन्त्री साह मंसिर ६ र ७ गते भारत भ्रमणमा जानुअघि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्न गएका थिएनन्। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा पनि उनले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिएनन्। प्रधानमन्त्रीको यस्तो व्यवहारलाई राष्ट्रपति कार्यालयका अधिकारीहरूले संस्थागत मर्यादाको बेवास्ताका रूपमा लिएको स्रोतको दाबी छ।

भारत भ्रमणबाट फर्किएपछि पनि प्रधानमन्त्रीले तत्काल राष्ट्रपतिलाई भेटेनन्। यहीबीच बिहीबार प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेबीच करिब पाँच घण्टा लामो भेटवार्ता भएको थियो। प्रधानमन्त्री स्वयं लामिछानेको निवास पुगेका थिए।

त्यस भेटमा प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्किएपछि राष्ट्रपतिसँग भेटका लागि समय नपाएको लामिछानेलाई सुनाएको रास्वपाका एक पदाधिकारीले बताएका छन्। त्यसको भोलिपल्ट शुक्रबार लामिछाने राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्ने भन्दै शीतलनिवास पुगेका थिए।

राष्ट्रपति पौडेलले बुधबार त्रिवि शिक्षण अस्पताल पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका थिए। त्यसैको सन्दर्भमा लामिछाने शीतलनिवास पुगे पनि भेटमा स्वास्थ्य अवस्थाबाहेक सरकारको कार्यशैली, अध्यादेश र प्रधानमन्त्री–राष्ट्रपतिबीचको संवादहीनताको विषयसमेत उठेको बताइएको छ।

रास्वपाका ती पदाधिकारीका अनुसार लामिछानेसँगको भेटपछि मात्रै राष्ट्रपति प्रधानमन्त्री साहसँग भेट गर्न तयार भएका थिए। राष्ट्रपति कार्यालयका एक अधिकारीले पनि प्रधानमन्त्रीले भारत भ्रमणअघि राष्ट्रपतिलाई नभेटेको विषयमा असन्तुष्टि रहेको स्वीकार गरेका छन्।

‘भ्रमणमा जाँदा भेट्नु नपर्ने? आएपछि किन भेट्नुप¥यो र भन्ने थियो,’ राष्ट्रपति सचिवालयका एक सदस्यले भने। ती सदस्यका अनुसार लामिछानेले राष्ट्रप्रमुख र प्रधानमन्त्रीबीच संवादहीनता देखिएको विषयलाई गम्भीर रूपमा लिँदै लोकतान्त्रिक पद्धतिअनुसार सरकार सञ्चालन हुनुपर्ने धारणा राखेका थिए।

राष्ट्रपति पौडेल र लामिछानेबीच करिब ४० मिनेट कुराकानी भएको बताइएको छ। लामिछानेनिकट रास्वपाका एक नेताका अनुसार भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामिछानेलाई ‘यसरी कहिलेसम्म चलाउनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए। भेटमा भएका अन्य विषय भने दुवै पक्षले सार्वजनिक गरेका छैनन्।

लामिछानेपछि मात्रै शीतलनिवास पुगेका प्रधानमन्त्री साह र राष्ट्रपति पौडेलबीच करिब २० मिनेट कुराकानी भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यस घटनाक्रमले एउटा असहज राजनीतिक दृश्य देखाएको छ—प्रधानमन्त्रीले आफ्नो पार्टी सभापतिसँग लामो समय छलफल गर्ने तर राष्ट्रप्रमुखसँगको औपचारिक संवादलाई प्राथमिकतामा नराख्ने। राष्ट्रपति कार्यालयका अधिकारीहरूको बुझाइमा प्रधानमन्त्री साह आफ्नो पार्टी सभापतिप्रति जवाफदेही देखिए पनि राष्ट्रप्रमुखलाई बेवास्ता गरिरहेको अनुभूति राष्ट्रपति पौडेललाई भएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको सम्बन्ध केवल व्यक्तिगत शिष्टाचारको विषय होइन। संविधानले दुवै पदलाई फरक–फरक भूमिका र जिम्मेवारी दिएको छ। प्रधानमन्त्रीको विदेश भ्रमण, सरकारका महत्वपूर्ण निर्णय तथा संवैधानिक प्रक्रियामा राष्ट्रपतिसँग आवश्यक संवाद र समन्वय हुनु संस्थागत अभ्यासको हिस्सा हो। त्यसैले यस्तो संवादमा देखिएको दूरीले सरकार सञ्चालनको शैली र संवैधानिक संस्थाहरूबीचको सम्बन्धबारे प्रश्न उठाएको छ।

अर्कोतर्फ, राष्ट्रपति कार्यालयमा विचाराधीन तीन अध्यादेशले पनि यो असमझदारीलाई थप पेचिलो बनाएको छ। विशेषगरी प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशलाई लिएर पत्रकारिता क्षेत्रका संस्थाहरूले आपत्ति जनाउँदै आएका छन्। नेपाल पत्रकार महासंघले राष्ट्रपतिसँग भेटेरै उक्त अध्यादेश जारी नगर्न आग्रह गरेको छ। यस्तो अवस्थामा सरकारले अध्यादेशको औचित्य स्पष्ट नगरी प्रमाणीकरणका लागि दबाब दिएको हो कि भन्ने प्रश्नसमेत उठेको छ।

प्रधानमन्त्रीले अध्यादेश जारी गर्न आग्रह गर्नु सरकारको संवैधानिक अधिकारअन्तर्गतको प्रक्रिया हो। तर, राष्ट्रपतिले त्यसको औचित्यबारे प्रश्न उठाउनु र लोकतान्त्रिक संस्थाहरूको मर्यादा स्मरण गराउनु पनि संवैधानिक भूमिकाकै विषय हो। विवादको केन्द्रमा अध्यादेशको आवश्यकता मात्रै नभई संसद्को भूमिका, राष्ट्रपतिको संवैधानिक जिम्मेवारी र सरकारको निर्णय प्रक्रियाबीचको सन्तुलन देखिएको छ।

शुक्रबारको भेटपछि राष्ट्रपति र प्रधानमन्त्रीबीचको असमझदारी समाधान भयो वा केवल औपचारिक संवादमा सीमित रह्यो भन्ने स्पष्ट भइसकेको छैन। तर, राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको र अध्यादेशको विषयमा पनि प्रश्न उठाएको विवरणले शीतलनिवास र सिंहदरबारबीचको सम्बन्ध सहज नरहेको संकेत गरेको छ।

अब प्रश्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटे कि भेटेनन् भन्नेमा मात्रै सीमित छैन। सरकार संवैधानिक संस्थाहरूसँग कति समन्वयमा चल्छ, पार्टी नेतृत्वसँगको संवादलाई राज्यका संस्थागत प्रक्रियाभन्दा माथि राखिन्छ कि राखिँदैन र संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कता लैजान्छ भन्ने बहस पनि यस घटनासँगै सतहमा आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट