रविको साथ छाडेर बालेनतिर सोविता ? सातौँबाट एकैपटक तेस्रो वरीयतामा उक्लिएपछि राजनीतिक वृत्तमा चर्चा !
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह (बालेन) बीच शक्ति सन्तुलनको चर्चा चलिरहेका बेला कानुनमन्त्री सोविता गौतमको मन्त्री वरीयतामा भएको अप्रत्याशित बढुवाले नयाँ राजनीतिक प्रश्न जन्माएको छ। यसअघि रवि लामिछानेनिकट मानिँदै आएकी गौतमलाई प्रधानमन्त्री बालेनको सिफारिसमा सातौँ स्थानबाट सिधै तेस्रो स्थानमा पु¥याइएको छ।
मंसिर १० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन साहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको वरीयता संशोधन गरेपछि गौतम एकैपटक चार स्थान माथि उक्लिएकी हुन्। नयाँ वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतम तेस्रो स्थानमा छन्।
यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथोमा झरेका छन्। बालेन भारत भ्रमणमा जाँदा कामु प्रधानमन्त्रीसमेत भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छठटौँ र पूर्वाधार विकासमन्त्री सुनील लम्साल सातौँ स्थानमा पुगेका छन्।
मन्त्रिपरिषद् गठन भएको करिब आठ महिनापछि गरिएको यो फेरबदलले सामान्य मर्यादाक्रम संशोधनभन्दा बढी राजनीतिक अर्थ बोकेको चर्चा सुरु भएको छ। विशेषगरी पार्टीको उपसभापति रहेकी सोवितालाई प्रधानमन्त्रीले अर्थमन्त्रीपछिको स्थान दिनुले बालेनले पार्टीभित्रको शक्ति सन्तुलनमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको हो कि भन्ने प्रश्न उठाएको छ।
रविनिकट नेताबाट बालेनको प्राथमिकतामा ?
सोविता गौतम रास्वपाकी उपसभापति हुन्। पार्टीको पछिल्लो महाधिवेशनबाट उपसभापति निर्वाचित भएकी उनी सभापति रवि लामिछानेनिकट नेताका रूपमा चिनिँदै आएकी छिन्।
पार्टीभित्रको वरीयतामा सभापतिपछिको तहमा रहेकी गौतम मन्त्रिपरिषद्को अघिल्लो वरीयतामा भने सातौँ स्थानमा थिइन्। अहिले उनलाई अर्थमन्त्री वाग्लेपछिको तेस्रो स्थानमा पुर्याइएको छ।
यसलाई पार्टीको आन्तरिक पदक्रमअनुसार मन्त्रीको मर्यादाक्रम मिलाइएको निर्णयका रूपमा पनि व्याख्या गर्न सकिन्छ। तर पछिल्लो समय रास्वपाभित्र नेतृत्व र प्रभावको विषयमा चर्चा भइरहेका बेला भएको यो बढुवाले अर्को राजनीतिक सन्देश दिएको हुन सक्ने विश्लेषण भइरहेको छ।
सोविता सुरुदेखि नै रवि लामिछानेको राजनीतिक वृत्तसँग निकट रहेकी नेता हुन्। तर प्रधानमन्त्री बालेनले उनलाई उच्च वरीयता दिएपछि उनी अब प्रधानमन्त्रीको राजनीतिक प्राथमिकतामा पनि परेकी हुन् कि भन्ने चर्चा सुरु भएको छ।
यद्यपि, गौतमले रविको साथ छाडेको वा बालेनको समूहमा औपचारिक रूपमा प्रवेश गरेको पुष्टि गर्ने कुनै सार्वजनिक निर्णय वा अभिव्यक्ति छैन। त्यसैले यसलाई अहिले नै कित्ता परिवर्तनको निष्कर्षभन्दा पनि रास्वपाभित्रको सम्भावित शक्ति समीकरणसँग जोडिएको राजनीतिक चर्चाका रूपमा बुझ्नुपर्ने हुन्छ।
बालेन असन्तुष्ट, तर सोविताको वरीयता बढ्यो !
सोविताको वरीयता बढाइनुलाई चासोका साथ हेरिनुको अर्को कारण उनको मन्त्रालयको कार्यसम्पादनबारे यसअघि उठेका प्रश्न हुन्।
सरकारीवादी मुद्दाको प्रभावकारिता र कानुनी प्रक्रियामा मन्त्रालयको भूमिकालाई लिएर प्रधानमन्त्री असन्तुष्ट रहेको चर्चा स्रोतहरूमा हुँदै आएको थियो। एक समय उनलाई राजीनामा दिन दबाब परेको समेत स्रोतको दाबी छ।
तर अहिले कार्यसम्पादनको विषयमा उठेका प्रश्नहरूबीच नै उनलाई मन्त्रिपरिषद्को तेस्रो स्थानमा पुर्याइएको छ। यसले बढुवाको आधार केवल मन्त्रालयको काम वा प्रशासनिक कार्यसम्पादन मात्रै हो कि भन्ने प्रश्न उठाएको छ।
सरकार बनेयता चुपचाप काम गरेर नतिजा निकाल्ने मन्त्रीका रूपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको चर्चा हुने गरेको छ। तर उनको वरीयता भने दसौँ स्थानमा छ।
यसले मन्त्रीहरूको मर्यादाक्रम निर्धारणमा कार्यसम्पादनभन्दा पार्टीको आन्तरिक पदक्रम र राजनीतिक समीकरणले भूमिका खेलेको हो कि भन्ने बहसलाई थप बल दिएको छ। यद्यपि, सरकारले वरीयता परिवर्तनको औपचारिक कारणका रूपमा कार्यसम्पादन वा कुनै मन्त्रीप्रतिको असन्तुष्टि सार्वजनिक गरेको छैन।
रवि–बालेन सम्बन्धको पृष्ठभूमिमा बढुवाको अर्थ
रास्वपाको राजनीतिक नेतृत्व सभापति रवि लामिछानेसँग छ भने सरकारको नेतृत्व प्रधानमन्त्री बालेन साहले गरिरहेका छन्। पार्टी र सरकारको नेतृत्व फरक व्यक्तिमा रहेकाले दुवैको प्रभाव, निर्णय प्रक्रिया र राजनीतिक प्राथमिकताबारे बेलाबेला चर्चा हुँदै आएको छ।
यस्तो अवस्थामा रविनिकट मानिएकी सोवितालाई बालेनको सिफारिसमा मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुर्याइनुले उनलाई प्रधानमन्त्रीको राजनीतिक समीकरणमा पनि महत्व दिन खोजिएको हो कि भन्ने प्रश्न उठाएको छ।
तर वरीयता बढेकै आधारमा सोविताले रविलाई छाडेको निष्कर्ष निकाल्न सकिँदैन। पार्टीभित्रको सम्बन्ध र सरकारको मर्यादाक्रम फरक विषय हुन्। त्यसैले यो निर्णयलाई व्यक्तिगत कित्ता परिवर्तनभन्दा पनि बालेन र रविबीचको शक्ति सन्तुलनमा सोविताको भूमिका के हुन सक्छ भन्ने कोणबाट हेरिएको छ।
वरीयता परिवर्तनकै दिन बालेन–रविबीच पाँच घण्टा छलफल
मन्त्रीहरूको वरीयता संशोधन भएकै दिन प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच लामो छलफलसमेत भएको थियो। बिहीबार लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, भ्रमणका उपलब्धि, पार्टीका आन्तरिक विषय, प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशबारे छलफल भएको थियो। उनले भेटवार्तालाई सौहार्द्रपूर्ण भनेका थिए।
यो भेटले तत्कालै बालेन र रविबीच दूरी बढेको वा टकराव उत्कर्षमा पुगेको निष्कर्षलाई पुष्टि गर्दैन। तर एकातिर दुई शीर्ष नेताबीच पार्टी र सरकारका विषयमा छलफल भइरहँदा अर्कोतिर रविनिकट मानिएकी सोविताको वरीयता बढाइनुले पार्टीभित्रको शक्ति समीकरणबारे चासो भने बढाएको छ।
यसअघि बालेनले भारत भ्रमणबाट फर्किने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिर सार्वजनिक गर्दै ‘देश उँभो लगाउने टोली, निकै मेहनती मान्छेहरू’ भन्दै प्रशंसा गरेका थिए। अहिले स्वर्णिम दोस्रो र सोविता तेस्रो वरीयतामा पुगेकी छिन्।
अन्ततः सोविताको बढुवा पार्टीको उपसभापतिको हैसियतलाई मन्त्रिपरिषद्मा पनि सम्बोधन गर्ने निर्णय हो वा रास्वपाभित्र बालेनले आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने नयाँ रणनीति—यसको जवाफ आगामी राजनीतिक घटनाक्रम र सोविताको भूमिकाले दिनेछ। अहिलेका लागि भने उनको चार तहको बढुवा पार्टीभित्रको शक्ति सन्तुलनबारे नयाँ बहसको विषय बनेको छ।
लोकप्रिय
ताजा अपडेट
रविको साथ छाडेर बालेनतिर सोविता ? सातौँबाट एकैपटक तेस्रो वरीयतामा उक्लिएपछि राजनीतिक वृत्तमा चर्चा !

