बालेनको भारत भ्रमणदेखि जेनजी आन्दोलनसम्म ओलीको प्रहार, आफ्नै उपाध्यक्ष र महासचिवको खोजी हुँदा सम्पादकमाथि नै खनिए!

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को भारत भ्रमणमाथि प्रश्न उठाउँदै जेनजी आन्दोलनका बेला आफू नेतृत्वको सरकारलाई राज्य संयन्त्रले साथ नदिएको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण, जेनजी आन्दोलन र त्यसपछि बनेको सरकारबारे खुलेर टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपाली सेनाको गार्ड अफ अनर नलिएको तर भारतीय सेनाको गार्ड अफ अनर लिएको भन्दै ओलीले प्रश्न उठाए। भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने महत्वपूर्ण विषयहरू उठाउन नसकेको उनको आरोप थियो।

‘नेपाली सेनाको गार्ड अफ अनर नलिने तर भारतीय सेनाको लिने ?’ भन्दै उनले प्रधानमन्त्रीको भ्रमणमाथि कटाक्ष गरे। भ्रमणको प्रशंसा गर्नेहरूलाई पनि उनले व्यंग्य गरे। ओलीले बालेनको भारत भ्रमणमा नेपाल–भारत सम्बन्धका पुराना विवाद र संवेदनशील विषयले प्राथमिकता नपाएको बताए। विशेषगरी प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र सीमा विवादबारे कुरा उठ्न नसकेको उनको टिप्पणी थियो।

‘बालेनको भारत भ्रमणमा उठ्नुपर्ने कुनै पनि कुरा उठेनन्,’ ओलीले भने, ‘ईपीजी, सीमा केही उठेनन्।’ काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई समेत ओलीले आलोचनाको विषय बनाए। मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा त्यस विषयमा कुनै कुरा नउठाएको उनको आशय थियो।

जेनजी आन्दोलनमा राज्य संयन्त्रले साथ नदिएको ओलीको दाबी
ओलीले ०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे पनि आफ्नो धारणा राखे। भदौ २३ गते आन्दोलनका क्रममा युवाहरूको ज्यान गएपछि भोलिपल्ट भदौ २४ मा संसद् भवन, सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो।

त्यतिबेला आफू प्रधानमन्त्री रहेको स्मरण गर्दै ओलीले भदौ २४ गते राज्य संयन्त्रले सरकारलाई साथ नदिएको गुनासो गरे। ‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन,’ उनले भने, ‘राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’

राज्यका सुरक्षा तथा प्रशासनिक निकायले साथ नदिएको अवस्थामा प्रधानमन्त्रीले के गर्न सक्थ्यो भन्ने प्रश्न गर्दै उनले त्यस दिनको घटनाको जिम्मेवारीबारे आफ्नो बचाउ गरेका हुन्। भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसको तीन दिनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।

‘मैले संविधान मिच्नु हुँदैन भनेको थिएँ’
ओलीले सुशीला कार्की नेतृत्वको सरकार गठनमा आफ्नो कुनै सिफारिस नरहेको स्पष्ट पारे। आफूले सिफारिस गरेको आधारमा कार्की प्रधानमन्त्री नियुक्त भएको र संसद् विघटन गरिएको भन्ने दाबी गलत भएको उनको भनाइ थियो।

‘केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद् विघटन भनेर झुट बोल्ने काम भयो,’ उनले भने। त्यतिबेला आफूले राष्ट्रपति पौडेललाई संविधानभित्रैबाट राजनीतिक निकास खोज्न आग्रह गरेको ओलीले बताए।

‘एउटा कुरा स्पष्ट हुनुस्, मैले संविधान मिच्नुहुँदैन भनेर राष्ट्रपतिलाई भनेको छु,’ उनले भने, ‘संविधानभित्रबाट समाधान खोज्न भनेको हुँ।’ २०७२ सालको संविधानअनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था छ। पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट व्यवस्था संविधानमा छैन। यही संवैधानिक जटिलताका बीच कार्की नेतृत्वको सरकार गठन भएको थियो।

ओलीका अनुसार त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक सिग्देलले संविधानको कुन धारा प्रयोग गर्ने भनेर सोधेका थिए। तर संविधानमा त्यस्तो परिस्थितिका लागि स्पष्ट व्यवस्था नभएको उनको भनाइ थियो। ‘राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु,’ ओलीले भने।

पौडेल र पोखरेलको खोजी हुँदा ओली असन्तुष्ट
एमाले प्रचार विभागले आयोजना गरेको सम्पादकहरूसँगको भेटघाटमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको अनुपस्थितिबारे पनि प्रश्न उठेको थियो।

भेटघाटको सुरुमै केही पत्रकारले पौडेल र पोखरेल पनि सहभागी हुने पूर्वजानकारी पाएको तर उनीहरू उपस्थित नभएकोबारे जिज्ञासा राखेका थिए। त्यसको जवाफमा ओलीले पार्टीमा धेरै नेता हुँदाहुँदै दुई जनाको अनुपस्थितिलाई मात्र प्रश्न बनाइएको भन्दै असन्तुष्टि जनाए।

‘पार्टीमा त्यत्रा नेता छन्, स्थायी कमिटी, पोलिटब्युरो छ, तर जम्मा दुई जना किन आउनुभएन भनेर सोधिन्छ,’ उनले भने। उनले पार्टीका अन्य नेताहरू पनि कार्यक्रममा उपस्थित रहेको र प्रदीप ज्ञवाली आफू निकटसमेत रहेको उल्लेख गरे। तर दुई नेताको अनुपस्थितिमाथि मात्रै प्रश्न उठाउनु पार्टीभित्रको अन्तर्विरोधमा खेल्न खोज्ने प्रयास भएको ओलीको आरोप थियो।

‘प्रदीपजी मसँग नजिक पनि भएको र यहाँ पनि आउनुभयो, अरू नेता पनि हुनुहुन्छ, तर त्यो प्रश्नले अन्तर्विरोधमा खेल्न खोजियो,’ ओलीले भने। अध्यक्ष भएर बोल्न नपाइने र सम्पादक भएर प्रश्नसमेत सोध्न नपाइने भएकाले नआएको हुन सक्ने भन्दै उनले व्यंग्यात्मक टिप्पणी गरे। पौडेल र पोखरेल नआउनुको कारणबारे भने उनले स्पष्ट जानकारी दिएनन्।

एकै भेटमा सरकार, आन्दोलन र पार्टीभित्रको सन्देश
सम्पादकहरूसँगको भेटघाटमा ओलीले प्रधानमन्त्री बालेनको विदेश भ्रमणदेखि जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक निकाससम्मका विषयमा आफ्नो धारणा राखे। उनले वर्तमान प्रधानमन्त्रीको कूटनीतिक गतिविधिमाथि प्रश्न उठाए भने आफू नेतृत्वको सरकार ढल्नुमा राज्य संयन्त्रको असहयोगलाई कारणका रूपमा प्रस्तुत गरे।

त्यस्तै, एमालेभित्रका दुई शीर्ष नेताको अनुपस्थितिबारे प्रश्न उठ्दा पार्टीको आन्तरिक अन्तर्विरोध खोजिएको आरोप लगाए। यसले ओलीको सार्वजनिक अभिव्यक्तिमा राष्ट्रिय राजनीति र पार्टीभित्रको नेतृत्वसम्बन्धी असहजता दुवै विषय एकसाथ देखिएका छन्।

बालेनको भारत भ्रमणमाथि ओलीले उठाएका प्रश्न र जेनजी आन्दोलनबारे उनले दिएको स्पष्टीकरणले आगामी दिनमा राजनीतिक बहस थप चर्काउने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट