नबिल बैंकको डेढ करोड चोरेर काठमाण्डौं भाग्दै गरेका २ जना बसबाटै पक्राउ, २ जना भारतमा समातिए

वीरगन्ज– पर्साको वीरगन्ज स्थित बाइपास रोडमा रहेको नबिल बैंक शाखा कार्यालयबाट आईतबार राती करिव डेढ करोड रुपैयाँ चोरी गर्ने २ भारतीयसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरीमा संलग्न १ जना अझै फरार छन्।

चोरीमा संलग्न रहेको आरोपमा रौतहटको मौलापुर नगरपालिका–७ पथरा बुधरामका सन्जय जयसवाल र छोटेलाल जयसवाल छन्। यसैगरी भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई नियन्त्रणमा लिएको छ।

रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका सन्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ पक्राउ गरेको हो। मन्टु र ललन भने घोडासहनबाटै पक्राउ परेका हुन। उनीहरूलाई नेपाल ल्याउने प्रयास भइरहेको छ। घटनामा संलग्न १ भारतीयको खोजी भइरहेको प्रहरीले जनाएको छ।

५ जनाले मिलेर आइतबार राति बैंकबाट १ करोड ३४ लाख ६५ लाख चोरी गरेका थिए। चोरी गर्नुभन्दा पहिले उनीहरु वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा कोठा लिएर बसेको खुलेको छ। उनीहरुले छोटेलाल जयसवालका नाममा कोठा बुक गरेका थिए।

चोरहरूले बैंकको मूल गेटमा लगाएको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सीसीटीभीको फुटेजमा देखिएको थियो।

प्रहरीले चोरी भएको मध्ये केही रकम पनि वरामद गरेको जनाईएको छ। भारतको घोडासहनमा लुकाएर राखिएको अवस्थामा भारतीय प्रहरीले उक्त रकम फेला पारेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट