कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाण्डौं लगिँदै, थप उपचार भन्दै अस्पतालले गर्यो रेफर

जनकपुर– नागरिकता किर्ते प्रकरणमा धुनषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टर मार्फत काठमाण्डौं लाने तयार भएको छ।

प्रहरी नियन्त्रणमा भएपनि जनकपुरस्थित काब्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि भन्दै हेलिकप्टरबाट काठमाडौं लाने तयारी भएको हो। प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

काब्या अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लाने तयारी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए। सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकुलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो।

सोही आदेश अनुसार उनलाई थप उपचारका लागि रिफर गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए। उनको पहिलै मुटुको नशा च्यापिएको जनाईएको छ।१० वर्षदेखि ब्लड प्रेसरको दबाई पनि खाँदै आएको र न्युरो सम्बन्धी मेडिसिटी अस्पतालमा नियमित फलोअप भइरहेकाले रिफर गरिएको अस्पतालले जनाएको छ।

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमुनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औँठाछापको नमुना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमवार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट