आत्महत्या गरेको भन्दै शव गाडियो, फोटो हेर्दा चोट देखेपछि ७ दिनपछि प्रहरीद्वारा उत्खनन्

काठमाण्डौं– गोरखामा आत्महत्या गरेको भनेर गाडिएको एक महिलाको शव प्रहरीले ७ दिनपछि उत्खनन गरेको छ। घट्ना शंकास्पद देखिएको भन्दै प्रहरीले शव उत्खनन गरेर निकालेको हो।
बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती ४५ वर्षीया रनमाया गुरुङको ४ साउनमा मृत्यु भएको थियो। उनले झुण्डिएर आत्महत्या गरेको भन्दै ५ साउनमा जातिय परम्परा अनुसार शव गाडिएको थियो।
तर, घटना शंकास्पद देखिएकाले उत्खनन गरि पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए।
यसैबीच, महिलाका दाजु सुकपाल गुरुङले घटना शंकास्पद लागेको भन्दै १० साउनमा छानबिनका लागि प्रहरीमा उजुरी दिए। शव गाड्नुअघि खिचेको तस्वीरमा महिलाको शरीरमा चोटपटकको दाग देखिएको माइती पक्षले जनाएका छन्।
सुकपालको निवेदनपछि अनुसन्धान गर्न शव उत्खनन गरिएको डीएसपी श्रेष्ठको भनाई छ। इलाका प्रहरी कार्यालय जौवारी, जिल्ला प्रहरी कार्यालय र गोरखा अस्पतालका बिशेषज्ञ चिकित्सक समेतको टोली ११ साउनमा घटनास्थल पुगेर शव उत्खनन गरको थियो।
पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउँदै डीएसपी श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।