डकैती गर्न घर पसेका तीन युवकको आक्रमणबाट ६२ वर्षीया महिलाको मृत्यु, तीन पक्राउ

वीरगञ्ज– पर्साको धोबिनी गाउँपालिका–५ मा डकैती गर्न घर पसेका तीन युवकले चोरीको प्रतिकार गरेकी ६२ वर्षीया लखरजिया देवीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाको करिब एक सातापछि प्रहरीले डकैती र हत्यामा संलग्न रहेको आरोपमा स्थानीय तीन १८ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का चन्दन कुमार पटेल, घलथरिया भनिने राज कपुर बैठा र रामु पासवान छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूले लखरजियाको घरबाट नगद तथा गरगहना चोरी गरेका थिए। चोरीको क्रममा लखरजियाले थाहा पाएपछि प्रतिकार गर्दा उनीमाथि आक्रमण भएको र त्यसैबाट उनको मृत्यु भएको अनुसन्धानमा खुलेको हो।

लखरजिया ५ असोजको बिहान करिब ८ बजे आफ्नै दुई तले पक्की घरको दोस्रो तलास्थित बीचको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

शवको अवस्था हेर्दा प्रहरीले प्रारम्भिक रूपमा हत्या भएको आशंका गरेको थियो। अनुसन्धानका क्रममा उनको मृत्यु ५ असोजको राति करिब ३ बजे भएको खुलेपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक अघि बढाएको थियो। अनुसन्धानका लागि प्रहरीको अफिसर टोली र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।

घटनास्थल तथा लासजाँच मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो। पोस्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसके पनि प्रहरीले घटनाको पृष्ठभूमि र संलग्न व्यक्तिको खोजीलाई निरन्तरता दिएको थियो।

मध्यरातमा बन्यो डकैतीको योजना
प्रहरीका अनुसार घटनाको राति करिब साढे ११ बजे तीनै जना राज कपुर बैठाको घरमा भेला भएका थिए। त्यहाँ उनीहरूले गाँजा सेवन गरेको र त्यसै क्रममा लखरजियाको घरमा चोरी गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

योजना बनाएपछि उनीहरू राति करिब साढे २ बजे लखरजियाको घरको पछाडिको पर्खालबाट घरमाथि पुगेका थिए। माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज फोडेर त्यहाँ राखिएको नगद तथा गरगहना निकालेको प्रहरीको भनाइ छ।

त्यसपछि उनीहरूले घरका अन्य कोठामा रहेका टिनका बक्सासमेत फुटाउन थालेका थिए। त्यही क्रममा लखरजियाले आवाज थाहा पाएर माथिल्लो तलामा पुगेकी थिइन्। प्रहरीका अनुसार चोरी गरिरहेको समूहलाई लखरजियाले प्रतिकार गर्न खोजेपछि उनीमाथि आक्रमण भएको थियो। सोही आक्रमणबाट उनको मृत्यु भएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चोरीको रकम र गरगहना बाँडेको प्रहरीको दाबी
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार डकैतीपछि तीनै जनाले नगद तथा गरगहना आपसमा बाँडेका थिए। प्रहरीले चन्दन कुमार पटेलको घरबाट दुई थान सुनका चुरा बरामद गरेको जनाएको छ।

डकैतीबाट प्राप्त रकममध्ये केही रकम उनीहरूले पहिले उधारोमा खाएको पसलको ३ हजार रुपैयाँ तिर्नसमेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यस्तै राज कपुर बैठाको साथबाट ७६० रुपैयाँ बरामद भएको छ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको चक्कु, पिलास र गाडीको स्प्रिङ पत्तासमेत बरामद गरेको जनाएको छ।

हत्या कसुरमा म्याद थप
पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले हत्याको कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाको योजनादेखि घर प्रवेश, चोरी, प्रतिकारपछि भएको आक्रमण र चोरीको सामान तथा रकम बाँडफाँटसम्मका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

घटना सुरुमा हत्या भएको आशंकाबाट अनुसन्धान अघि बढाइएको थियो। तर घटनास्थल, शव परीक्षण, पक्राउ परेका व्यक्तिमाथिको अनुसन्धान तथा बरामद भएका सामग्रीका आधारमा हत्या डकैतीकै क्रममा भएको निष्कर्षमा प्रहरी पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट