डाक्टरको सुरक्षा छैन, विरामीले उपचार पाएनन्, कर्मचारी नै चोर्छन औषधीः रणजितको नेतृत्व केका लागि?

राजविराज— गजेन्द्रनारायण सिंह अस्पतालमा पछिल्ला केही महिनामा सार्वजनिक भएका घटनाले एउटा साझा प्रश्न खडा गरेको छ— अस्पतालको प्रशासनिक नेतृत्वले आफ्नै कर्मचारी र स्वास्थ्यकर्मीबीचको विवाद, चिकित्सकमाथिको सुरक्षा चुनौती तथा सरकारी औषधी–सामग्रीको दुरुपयोग रोक्न किन सकिरहेको छैन ?

घटनाहरूका श्रृंखला हेर्दा समस्या नेतृत्वको जानकारीभन्दा बाहिर थिएनन्। उल्टै, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रणजितकुमार झा स्वयंले धेरै घटनाबारे जानकारी रहेको स्वीकार गरेका छन्। कतिपय घटनामा उनले निवेदनसमेत प्राप्त गरेका थिए। तर समस्या थाहा पाएपछि त्यसलाई रोक्न, जोखिममा परेका स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउन र अस्पतालभित्र प्रशासनिक नियन्त्रण कायम गर्न उनले गरेका ठोस पहल भने सार्वजनिक रूपमा देखिँदैनन्।

यही अन्तरले अहिले गजेन्द्रनारायण सिंह अस्पतालमा एउटा गम्भीर प्रश्न खडा गरेको छ—समस्या थाहा पाउने तर समाधान गर्न नसक्ने प्रशासनिक नेतृत्वलाई आखिर कहिलेसम्म निमित्त मेसुको जिम्मेवारीमा राखिरहने? उनको समस्या देख्ने र सुन्ने मात्रै नेतृत्व अस्पतालले कहिलेसम्म धानिदिनुपर्ने ?

कँडेल प्रकरण: धम्कीको जानकारी मेसुलाई, सुरक्षा पाएनन् चिकित्सकले
सबैभन्दा गम्भीर प्रकरण डा. जितेन्द्र कँडेलसँग जोडिएको छ। कँडेलले आफूलाई पटक–पटक आक्रमणको धम्की आएको, छोराछोरी अपहरण गर्ने चेतावनी दिइएको, हातखुट्टा भाँच्ने धम्की दिइएको तथा जातीय रूपमा ‘पहाडे’ भन्दै अपमान गरिएको उल्लेख गर्दै गत साउन १२ गते नै मेसुलाई लिखित निवेदन दिएका थिए।

पत्रकार सम्मेलनमा डा. झाले कँडेलमाथि ‘पहाडे’ भन्दै जातीय रूपमा अपमान गरिएको विषय आफूलाई जानकारी रहेको स्वीकार गरेका छन्। अर्थात्, चिकित्सकमाथि सामान्य विवाद मात्र नभई जातीय अपमान र सुरक्षा जोखिमसम्बन्धी गुनासोसमेत अस्पताल प्रशासनको जानकारीमा थियो।

अर्थात्, अस्पताल प्रशासनलाई चिकित्सकमाथि उत्पन्न सुरक्षा जोखिमबारे औपचारिक रूपमा जानकारी थियो। तर त्यसपछि पनि जोखिम रोकिएन। कँडेलका अनुसार उनलाई ‘सरुवा गराएर जा, नत्र आक्रमणमा पर्छस’ भन्दै धम्की दोहोरिरहे। अन्ततः उनले आफैं सरुवा मागे र भदौ २८ गते राजविराज छोडे।

त्यसपछि अस्पतालकै आकस्मिक कक्षसम्म बाहिरी समूह पुगेर ‘त्यो डाक्टर कहाँ छ, त्यसलाई आज ठिक पार्ने हो’ भन्दै गालीगलौज र हातखुट्टा भाँच्ने तथा मार्ने–काट्ने धम्की दिएको विषय पनि सार्वजनिक भएको छ। यो घटनाबारे जानकारी दिने व्यक्ति स्वयं मेसु झा हुन्।

उनले विहिबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमा गरेर उक्त समूह अस्पताल पुगेको घटना आफूले पनि थाहा पाएको बताएका थिए। उनले आफू प्रत्यक्ष घटनास्थलमा नभए पनि घटनाको साक्षी भएको बताए। घटनाको सीसीटीभी हेर्न खोज्दा त्यस दिन क्यामेरा नचलेको उनको भनाइ थियो।

तर प्रश्न त्यहीं उठ्छ—यदि चिकित्सकमाथि बाहिरी समूह अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्ने अवस्था बनेको थियो भने अस्पताल प्रशासनले त्यसपछि के गर्‍यो ? कँडेलले यस विषयमा पनि मेसुसमक्ष निवेदन दिएका थिए। निवेदनमा मेसुले तोकसमेत लगाएको बताइएको छ।

अर्थात्, सुरक्षा चुनौतीको सूचना प्रशासनसम्म पुगेको मात्र होइन, त्यसमा प्रशासनिक प्रक्रिया पनि अघि बढेको देखिन्छ। तर त्यसपछि कँडेललाई सुरक्षित कार्य वातावरण दिने वा धम्की दिने समूहविरुद्ध संस्थागत पहल भएको स्पष्ट विवरण सार्वजनिक भएको छैन। बरु, अन्ततः चिकित्सकले नै अस्पताल छाड्नुपर्ने अवस्था आयो।

बबिता प्रकरणदेखि अस्पताल वाहिरबाट पनि सुरु भयो धम्कीको श्रृंखला
अस्पतालभित्र वाहिरको समुह प्रवेश गरी आक्रमण गर्ने योजना बनाएको घट्ना भने बबिता पासवान घटनासँग पनि जोडिएको छ। राजविराज–१४ पर्साहीकी बबिता प्रसूति व्यथा लागेपछि भदौ २५ गते राति गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार ३ हजार २ सय रुपैयाँ नहुँदा उनलाई अस्पतालबाट बाहिर निकालिएको थियो। अस्पतालले भने उनलाई आवश्यक परीक्षणका लागि पठाइएको र उनी आफैं बाहिरिएको बताएको थियो।

भदौ २६ गते बिहान करिब ४–४ः३० बजे बबिताले अस्पतालनजिकै सडकपेटीमा छोरालाई जन्म दिएकी थिइन्। घटनाको भिडियो सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन र नेपाल मेडिकल काउन्सिलले छानबिन गरेका थिए।

नेपाल मेडिकल काउन्सिलको छानबिनले स्वास्थ्यकर्मीबाट पर्याप्त काउन्सिलिङ नभएको, बबिता अस्पतालबाट बाहिरिएपछि फलोअप नगरिएको तथा आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध सेवाबारे पर्याप्त जानकारी नदिइएको औंल्याएको थियो। घटनामा एक चिकित्सकसहित ६ जनामाथि कारबाही अघि बढाइएको थियो।

त्यही घटनाको भिडियो सार्वजनिक भएको विषयमा डा. कँडेलले दिएको अभिव्यक्तिपछि उनीमाथि बाहिरी समूह आक्रोशित भएको पाईएको छ। डाक्टर कँडेललाई इमर्जेन्सीमै पुगेर आक्रमण गर्ने समुहको नेतृत्व अस्पताल वाहिर मेडिकल पसल सञ्चलान गरेका तुला माझीले गरे। सीसीटीभी फुटेज पनि उनकै पसलबाट सार्वजनिक भएको थियो। कँडेलले ‘भिडियो बनाउने वा सार्वजनिक गर्ने व्यक्तिले अस्पताललाई समयमै जानकारी गराएको भए गर्भवतीलाई अस्पतालको बेडसम्म पुर्‍याएर उपचार तथा प्रसूति सेवा दिन सकिन्थ्यो। तर, त्यसो नगरी भिडियो सार्वजनिक गरेर आफनो दायित्व पुरा भएझै गरेको’ भन्दै असन्तुष्टि जनाएका थिए।

अस्पताल भित्रको धम्कीको सामना गरिरहेका वेला यही अभिव्यक्तिपछि आफूविरुद्ध वाहिरबाट पनि धम्कीको श्रृंखला बढेको र सुरक्षा खतरा थप भएको कँडेलको दाबी थियो। तर यो प्रकरणमा पनि कँडेलले प्रशासनिक नेतृत्वको सहयोग नपाएको स्पष्ट देखिन्छ। किनकी अस्पताल र मेसु झाले त्यस विषयमा पहल गरेको विषय स्पष्ट गर्न सकेका छैनन।

कँडेलले सुरक्षाको माग गर्दै निवेदन दिए। मेसुले निवेदनमा तोक लगाए। बाहिरी समूह अस्पतालको इमर्जेन्सी कक्षसम्म पुगेको भनियो। सीसीटीभी नचलेको जानकारी आयो। मेसुले जातीय अपमानसम्बन्धी गुनासोसमेत आफूलाई जानकारी रहेको स्वीकारे। त्यसपछि पनि चिकित्सकले अन्ततः आफैं सरुवा मागेर अस्पताल छोडे। यसले प्रशासनिक नेतृत्वको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गर्छ।

कर्मचारीबाटै चिकित्सकमाथि धम्की र हातपातको आरोप
यति मात्र होइन, असोज २ गते राति अस्पतालका चिकित्सकमाथि अस्पतालकै कर्मचारीबाट हातपात, गालीगलौज र ज्यान मार्ने धम्की दिएको अर्को घटना सार्वजनिक भयो।

राजविराज–८ स्थित ग्रिन गार्डेन रिसोर्टमा खाजा खाने क्रममा विवाद भएको भन्दै आठ चिकित्सकले असोज ५ गते लिखित निवेदन दिएका थिए। निवेदनमा अस्पतालका कर्मचारी नारायणकुमार यादवसहित अम्मर यादव, विब्लु यादव र दिनेश मण्डलको नाम उल्लेख गरिएको छ।

चिकित्सकहरूको दाबीअनुसार अम्मर यादवले मेसु डा. झालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि आफूहरूमाथि समेत हातपातको प्रयास भएको उनीहरूको भनाइ छ। यो घटना अस्पताल परिसरबाहिर भएको भन्दै पत्रकार सम्मेलनमा मेसु झाले आफूले तत्काल केही गर्न नसक्ने आशय व्यक्त गरे।

तर अस्पतालका चिकित्सकहरूले भने घटनालाई व्यक्तिगत झगडाका रूपमा मात्र नलिई कार्यस्थलको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहसँग जोडेर निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही माग गरेका छन्।

सरकारी औषधी बाहिर लैजान खोजिएको घटना
यसबीच अस्पतालभित्रैबाट सरकारी औषधी तथा स्वास्थ्य सामग्री बाहिर लैजान खोजिएको अर्को घटना सार्वजनिक भयो।

सुनसरी घर भएका अस्पतालका करार कर्मचारी तथा स्वास्थ्यकर्मी अहमद अलीलाई सरकारी सामग्री घरतर्फ लैजान खोजेको आरोपमा पक्राउ गरिएको थियो। उनको साथबाट सिरिञ्ज, डिएनएसलगायत सामग्री बरामद भएको बताइएको छ।

मेसु झाले अली पक्राउ परेको पुष्टि गर्दै आन्तरिक छानबिन समिति बनाएर अनुसन्धान भइरहेको बताएका थिए। उनका अनुसार अनुसन्धानका क्रममा केही प्रमाणसमेत फेला परेका छन् र समितिको प्रतिवेदनपछि कारबाहीबारे निर्णय हुनेछ।

अस्पताल स्रोतका अनुसार अली यसअघि पनि औषधी चोरीकै प्रकृतिको घटनामा पक्राउ परिसकेका व्यक्ति हुन्। अघिल्लो घटनामा के कारबाही भएको थियो र अहिलेको घटनासँग त्यसको कुनै सम्बन्ध छ कि छैन भन्ने विषय पनि छानबिनकै क्रममा छ। यो घटनाले अस्पतालको आन्तरिक नियन्त्रण प्रणालीमाथि अर्को प्रश्न खडा गरेको छ।

समस्या अनेक, जवाफ एउटैः ‘छानबिन हुँदैछ’
पछिल्ला घटनालाई एक ठाउँमा राखेर हेर्दा समस्या अलग–अलग देखिए पनि एउटा समानता भेटिन्छ। चिकित्सकमाथि धम्की आयो—प्रशासनलाई जानकारी थियो। जातीय अपमानको गुनासो आयो—मेसुले आफूलाई जानकारी रहेको स्वीकारे।

बाहिरी समूह अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्यो—मेसुले घटनाबारे थाहा भएको बताए। चिकित्सकमाथि अस्पतालकै कर्मचारीबाट हातपात र धम्कीको आरोप लाग्यो—चिकित्सकहरूले लिखित निवेदन दिए। सरकारी औषधी तथा स्वास्थ्य सामग्री बाहिर लैजान खोजिएको आरोप लाग्यो—मेसुले छानबिन समिति गठन गरेको बताए।

तर यी घटनापछि प्रशासनिक हस्तक्षेपको ठोस परिणाम के आयो भन्ने प्रश्न अझै अनुत्तरित छ। प्रशासनिक नेतृत्वको मूल्यांकन केवल समस्या भएको जानकारी राखेर हुँदैन। समस्या देखिएपछि त्यसलाई रोक्न के निर्णय गरियो, कसलाई जिम्मेवार बनाइयो, जोखिममा रहेका स्वास्थ्यकर्मीलाई कसरी सुरक्षा दिइयो र संस्थाभित्र अनुशासन कसरी कायम गरियो भन्ने कुराले नेतृत्वको प्रभावकारिता निर्धारण गर्छ।

गजेन्द्रनारायण सिंह अस्पतालमा पछिल्ला घटनाले यही तहमा डा. रणजितकुमार झाको नेतृत्वमाथि प्रश्न उठाएका छन्। पत्रकार सम्मेलनमा झाले धम्की, कुटाकुट, औषधीसम्बन्धी घटना र अन्य विवादबारे जानकारी भएको स्वीकार गरे। तर धेरैजसो विषयमा उनको जवाफ ‘छानबिन भइरहेको’, ‘प्रतिवेदन आएपछि निर्णय हुने’ वा ‘अस्पताल परिसरबाहिरको घटना भएकाले तत्काल केही गर्न नसकिने’ वरिपरि केन्द्रित रह्यो।

यहीँबाट अर्को प्रश्न उठ्छ—निमित्त मेसुको जिम्मेवारी समस्या आएपछि छानबिन समिति बनाउने र प्रतिवेदन पर्खिने मात्र हो कि समस्या दोहोरिन नदिन प्रशासनिक नियन्त्रण, सुरक्षा र अनुशासन कायम गर्ने पनि हो ? अझ ठूलो प्रश्न त झन् अगाडि छ।

एकपछि अर्को घटना हुँदा, चिकित्सकले सुरक्षा नपाएको गुनासो गर्दा, अस्पतालभित्रै कर्मचारीबीच विवाद बढ्दा र सरकारी औषधी–सामग्रीको सुरक्षामाथि प्रश्न उठ्दा पनि डा. रणजितकुमार झालाई निमित्त मेसुको जिम्मेवारीमै निरन्तरता दिनुको आधार के हो ?

यदि अस्पतालको नेतृत्वले समस्या समाधान गर्न सकेको छ भने त्यसको परिणाम सार्वजनिक हुनुपर्छ। यदि समस्या समाधान हुन सकेको छैन भने त्यसको जिम्मेवारी कसले लिने भन्ने पनि स्पष्ट हुनुपर्छ। गजेन्द्रनारायण सिंह अस्पतालमा अहिले प्रश्न एउटा घटनाको मात्र छैन। प्रश्न एउटै नेतृत्वअन्तर्गत दोहोरिइरहेका सुरक्षा, अनुशासन र प्रशासनिक नियन्त्रणका समस्याको हो।

र त्यसको जवाफ अस्पताल प्रशासन मात्र होइन, निमित्त मेसुको जिम्मेवारी दिने सम्बन्धित निकायले समेत दिनुपर्ने अवस्था बनेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट