बाजुराका युवा–युवती सिनामंगलको गेष्ट हाउसमा मृत भेटिए
काठमाण्डौं– काठमाण्डौंको एक गेष्ट हाउसमा एक जोडी युवा–युवती मृत फेला परेका छन्। काठमाण्डौं महानगरपालिका–९, शम्भुमार्गस्थित (सिनामंगल) झर्ना गेस्ट हाउसको कोठा नम्बर ४०२ मा दुवै जना मृत भेटिएका हुन्।
बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की गेष्ट हाउसमा मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिषर काठमाण्डौंका एसपी नवराज अधिकारीका अनुसार शान्ता कार्कीले सञ्चालन गरेको गेष्ट हाउसमा उनीहरु १५ साउनदेखि बस्दै आएका थिए। उनीहरु शुक्रबार १२ बजेसम्म विहानको खाना खान नआएपछि बोलाउन जाँदा उनीहरु बोलेनन्।
उनीहरुको कुनै प्रतिक्रिया नपाएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका थिए। करिष्माको घाँटीमा चोट देखिएको छ भने भरत पंखामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन्।
भरतले करिष्माको हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
