बलात्कृत किशोरीलाई नै प्रयोग गरेर अस्पतालबाट फरार कैदीलाई प्रहरीले समात्यो

विराटनगर– बलात्कारको कसुरमा सजाय काटिरहेका बेला अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पीडित भनिएकी किशोरीकै सहयोगमा पक्राउ परेको खुलेको छ।

ड्युटीमा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका विराटनगर–८ का २३ वर्षीय मोहमद अहमद (आर्यन महमद अहमद खान) लाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

नेपाल–भारत सीमानजिक पर्ने मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए। पेट दुख्यो भनेपछि १५ साउनमा उनलाई कोशी अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै रहेका बेला १७ साउनको विहान साढे ५ बजे शौचालय गएर निस्किने क्रममा ड्युटीमा खटिएका प्रहरीलाई लडाएर उनी फरार भएका थिए।

उनीमाथि मोरङको बेलबारी घर भएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो। अदालतले आरोप पुष्टि गर्दै १२ वर्ष कैद सजाय सुनाएपछि विगत ३ महिनादेखि उनी मोरङ कारागारमा थिए।

उनी फरार भएपछि खोजतलासका लागि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा तीन सदस्य टोली परिचालन गरिएको थियो। प्रहरीको अनुमानमा उनी तत्कालै जोगवनी नाका हुँदै भारत पुगेका थिए। उनलाई अस्पतालबाटै भाईले बोर्डरसम्म पुर्याएको प्रहरी अनुसन्धानबाट खुल्यो।

तर, उनी भारतको कुन ठाउँमा छन् भन्ने प्रहरीले मेसो पाउन सकेन। त्यसै क्रममा बलात्कार पीडित भनिएकी किशोरीसँग आर्यनको फोन सम्पर्क भईरहेको सुँईको प्रहरीले पायो। प्रहरीलाई आर्यनका एक साथीले नै यस विषयमा सूचना दिए।

प्रहरी टोली किशोरीको घरमै पुग्यो। सोधपुछ गर्दा आर्यन कारागारमा हुँदा निरन्तर टेलिफोनमा कुराकानी हुने गरेको र फरार भएपछि पनि सम्वाद भएको किशोरीले खुलाईन। त्यसपछि प्रहरीले आर्यानलाई पक्राउ गर्न किशोरीलाई नै प्रयोग गर्यो। उनीहरुको बीचमा प्रहरीले फेरी फोनमा कुराकानी गरायो। जस्ले आर्यन भारतमा बसेको लोकेसन पत्ता लाग्यो।

उनी भारतको झारखण्ड राज्यमा पर्ने साहियबगन्जस्थित आफन्तको घरमा बसेका रहेछन्। उनले त्यहाँ पुगेको भोलीपल्टै किशोरीलाई फोन गरेर कटियार बोलाएका रहेछन्। प्रहरीका एक अधिकृतले दिएको जानकारी अनुसार आर्यन बलात्कार मुद्दामा दोसी ठहर भएपनि किशोरीसँग उनको प्रेम सम्वन्ध छ।

उनीहरुले राजिखुसीमै विवाह गरेका थिए। तर, किशोरीको परिवारले उनीहरुको सम्वन्धलाई स्विकार नगर्दा घट्ना प्रहरीसम्म पुग्यो। आर्यान ४ फागुन ०७९ मा बेलबारीबाट पक्राउ परे। प्रहरीले मुद्दा अदालतमा लग्यो। मोरङ जिल्ला अदालतले ७ वैशाख ०८१ मा आर्यनलाई बलात्कारी प्रमाणित गर्दै १२ वर्षको कैद सजाय सुनायो।

तर, आर्यन र किशोरीका वीचमा अहिले पनि राम्रो सम्वन्ध रहेको ति प्रहरी अधिकृतले वताए। प्रहरीले यही सम्वन्धको फाईदा उठाएर आर्यनलाई पक्राउ गर्यो। यता, आर्यन फरार भएको प्रकरणमा त्यसवेला ड्युटीमा खटिएका दुई जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ।

जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार राजीव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। उनीहरू कैदी फरार भएकै दिन १७ साउनदेखि निलम्बनमा परेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट