सहकारीको पैसा अपचलनका ‘डिजाईनर रवि लामिछाने हुन’ भन्दै जीबीले लेखेको भनिएको पत्रमा के छ ?

काठमाडौँ– ‘सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिनाको ग्राईण्डजिनाईनर नै रवि लामिछाने हुन’ भन्दै इमेलमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राई (गितेन्द्रबाबु राई) ले पठाएको भनिएको पत्रको विषय पछिल्लो समय निकै चर्चामा छ।

सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै देश छोडेर भागेका राई लामो समयदेखि सम्पर्कविहिन छन्। संसदीय छानविन विशेष समितिले उनीसहितका ४ जनालाई कारवाहीका लागि सरकारलाई सिफारिस गरेको छ।

आधा दर्जन भन्दा वढि सहकारी संस्थाको पैसा गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालि लगायतका दर्जनौँ निजी कम्पनीमा पुर्याएको र अपचलन गरेको आरोप उनीहरुमाथि छ। राई मलेसियामा वसेको पत्ता लागेपछि त्यहीँबाट पक्राउ गरेर ल्याउन प्रहरीको एउटा टोली नै त्यहाँ पुगेको थियो। तर, प्रहरी टोली रित्तोहात फर्कियो।

त्यसपछि उनी नेपाल फर्किएको हल्ला पनि चल्यो। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गराएको छ। तर, हजारौँ बचतकर्ताको अर्बौं रकम घोटाला गरेर भागेका राई कहाँ छन्, प्रहरीले समेत बताउन सकेको छैन।

उनीसँगै सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र छविलाल जोशी पक्राउ परेका छन्। उनीहरुलाई अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ।

रवि लामिछाने पक्राउ परेसँगै जिबी राईको चर्चा सुरु भएको हो। हालै ‘जनआस्था’ ले जीबी राईले इमेलमार्फत पठाएको भन्दै एउटा पत्र नै सार्वजनिक गरेको छ। पत्रमा आफु नेपाल आएर अनुसन्धानमा सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको उल्लेख गर्दै सुरक्षाको व्यवस्था मिलाइदिन माग गरिएको छ।

जनआस्थाले सार्वजनिक गरेको पत्रको ब्यहोरा यस्तो छः

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,
अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु। सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु। त्यो वातावरण बनाइदिनुहोला, जुन कुरा संसदीय समितिलाई पनि मैले सन्देश पठाएको थिएँ।

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु। त्यो वातावरण राज्यले बनाइदियोस्। अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ। मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु। यसतर्फ पनि अनुसन्धान गरियोस्। मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब, धम्की सबै दिएका हुन्। म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए। आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे।

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन्। त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ। याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ। टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले।

केहीपछि तपाईंलाई गार्हो हुन्छ, मेरो नाम पनि जोडिन्छ, टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए। मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए। त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ। पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे।

उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए। मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ। पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे। बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ।

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ। मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे। र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन्।

उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन, तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने÷तर्साउने गरे। अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ। उनलाई उन्मुक्ती नदिइयोस्। उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु। राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट