२० वर्षीया प्रकृतिको शरीरलाई ७६ वर्षीय हजुरबुबाले दिए दागवत्ती, स्वर्गद्वारी घाटमा अन्त्येष्टि

काठमाडौँ– भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को होस्टलमा गत आईतबार मृत भेटिएकी बुटबलको भैरहवाकी २० वर्षीया प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा आज अन्त्येष्टि गरिएको छ।
हजुरबुवा ७६ वर्षीय देवनाथ लम्सालले उनको शरीरमा दागबत्ती दिए। त्यसअघि भैरहवामा शव यात्रा गरिएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणसहित केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए।
प्रकृतिको शव बुधबार राति करिव ९ बजे गोरखपुर हुँदै भैरहवा ल्याइएको थियो। उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएका कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो।
करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर–८, बैंक कलोनीमा प¥याएर अन्तिम श्रद्धान्जली दिईयो। राति १२ बजेपछि बाहिर निकालिएको थियो।
४ असार ०६१ मा भैरहवामा जन्मिएकी प्रकृतिले विद्यालय तह भैरहवा र बुटवलमा पढेकी थिईन। उनका बुवा–आमा सुनिल–सरिता लम्साल विगत १०–१२ वर्षदेखि काठमाडौंमा मसला उद्योग सञ्चालन गर्दै आएका थिए। त्यसैले उनले एसएलसी र प्लस टू भने काठमाडौंबाट सकेकी थिइन्।
उनी केआइआइटीमा बी टेक अन्तिम वर्षमा अध्ययनरत थिईन। चाडपर्व र बिदामा जसरी पनि मूल घर भैरहवाको बैंक कलोनीमा पुग्ने गरेकी उनी पछिल्लोपटक कात्तिक अन्तिममा पनि २०–२२ दिन बसेर फर्किएकी थिईन।