अविवाहित देखिने महिलाको लालसा र अर्काको छोरा नस्विकार्ने प्रेमीको जिद्दीका कारण ९ वर्षीय बालकको हत्या

काठमाडौँ– बाँकेमा एक महिलाको प्रेमीका अगाडि अविवाहित देखिने लालसा र अर्काको छोरा नस्विकार्ने पुरुषको जिद्दीका कारण ९ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ। हत्यामा उनकै आमा र आमाका प्रेमी संलग्न भएको प्रहरीको अनुशन्धानमा खुलेको छ।

जानकी गाउँपालिका– ३ का ९ वर्षीय बालक कुशल बुढा कोहलपुर नगरपालिका–११ कृषि चोकबाट ८ वैशाखदेखि सम्पर्कविहिन भएका थिए। त्यसको सातौं दिन (सोमबार) साँझ करिव ५ बजे उनको शव बैजनाथ गाउँपालिका–४ नौलापुरस्थित कुलोमा गाडिएको अवस्थामा फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा कुशलको हत्यामा उनकै आमा ३२ वर्षीया यशोदा बुढा र उनका प्रेमी (अघोसित पति) ३३ वर्षीय निरकनाथ योगीको संलग्नता भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यशोदाले जानकी गाउँपालिका ३ का एक मुस्लिम युवकसँग विवाह गरेकी थिईन। ७ वर्षअघि ती युवकको मृत्यु भयो। कुशल मुस्लिम युवक र यशोदाका छोरा हुन। पतिको मृत्यु भएपछि यशोदाले मजदुरी गर्ने दैलेखको दुल्लु नगरपालिका–११ का निरकनाथसँग दोस्रो विवाह गरेकी थिइन्।

तर, उनले विवाह गरेको कुरा घरपरिवार कसैलाई बताएकी थिईनन् भने निरकनाथसँग पनि आफु विवाहित रहेको, छोरा रहेको र श्रीमानको मृत्यु भएको कुरा लुकाएकी थिईन। अर्कोतर्फ उनले जानकी गाउँपालिका–३ बाट एकल महिलाको सामाजिक सुरक्षा भत्ता समेत लिँदै आएको खुलेको छ।

उनीहरु कोहलपुर नगरपालिका–११ कृषि चोकमा बस्थे। कुशल कोहलपुर माविमा कक्षा ३ मा पढ्थे। यशोदाले विद्यालयमा कुशलको बाबुको नाम समेत गलत लेखाएको खुलेको छ। स्कुलको रेकर्ड अनुसार कुशलको बुबाको नाम सन्तोष खनाल हो।

कोहलपुर सरेपछि यशोदा पूर्वपतिको घर फर्किएकी छैनन्। कुशललाई भने इद पर्वमा घर पठाउँथिन्। उनी नेपालगन्जसम्म जान्थिन् र त्यहाँबाट गाडी चढाएर कुशललाई घर पठाएर आफू डेरा फर्किन्थिन्। यस वर्षको इदमा पनि उनले कुशललाई बस चढाएर घर पठाईन र आफू डेरा फर्किइन्।

तर यसपटक कुशल पनि फर्किएर डेरामै पुगे। उनी पुगेपछि निरकनाथले चासो गरे। यशोदाले कुशल आफनो छोरा नभएको दावी गरिन। यही विषयमा उनको निरकनाथसँग विवाद भयो। त्यसपछि दुवै मिलेर कुशलको हत्या गरेको अनुशन्धानमा संलग्न इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर रेशमलाल पौडेलले बताए।

छोराको हत्या गरेपछि यशोदा आफैले प्रहरीमा खोजतलासको निवेदन दिईन। तर, त्यसपछि खासै चासो नदेखाएपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। यत्तिकैमा गोठालाहरुले शव भेटिएको जानकारी गराएपछि प्रहरीले सडेगलेको अवस्थामा उत्खनन् गर्यो। शव भेटिएको ठाउँ उनीहरूको डेराभन्दा झन्डै १३ किलोमिटर पर पर्छ। यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्।

कुशल मृत भेटिएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए। कुशल बेपत्ता भएको जानकारी यशोदाले घर परिवारलाई पनि दिएकी थिइनन्। उनीहरूले कुशललाई घरमै हत्या गरी त्यहाँ लगेर शव गाडेको हो वा त्यहीँ पुर्‍याएर हत्या गरेको भन्ने विषयमा अनुसन्धान भईरहेको इन्स्पेक्टर पौडेलले बताए।

यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट