सुनसरीमा भ्यान दुर्घटना हुँदा उदयपुर घर भएका असईको मृत्यु, चालक र उनकी छोरी घाईते

इटहरी — सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरिक्षक) ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ।
शनिवार दिउँसो प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो। उनी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए।
उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासस्थित घरबाट दाउरासहितका घरायसी सामान लिएर दुहवी जाँदै गरेका खतिवडा दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पु¥याइएकोमा उपचारका क्रममा दिउँसो करिव साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दरवन्दी नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौंमा रहेको जनाईएको छ।
दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन्।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका एसपी विनोद घिमिरेका अनुसार चालक कार्कीको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनकी छोरी रोजिना कार्की भने खतरामुक्त छिन्। उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको जनाईएको छ।