विनयी खोलामा बस फस्यो, २४ यात्रुको सकुशल उद्धार

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा एक यात्रुवाहक बस फसेको छ। नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस विनयी खोलामा अचानक आएको बाढीका कारण खोलाको बीचमै फसेको हो।

बसमा रहेका २४ जना यात्रुको प्रहरी र स्थानीयवासीको सहकार्यमा राति नै सकुशल उद्धार गरिएको छ। गएराति करिब पौने १२ बजे मे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बीचमा अलपत्र परेको थियो।

सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वबाट खटिएको करिब डेढ सय प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका थिए। प्रहरी र स्थानीयको प्रयासमा एक्स्काभेटरमार्फत राति नै सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बस भने अहिले पनि खोलामै फसेको अवस्थामा छ। खोलामा पानीको बहाव कम भएपछि मात्र बस निकाल्ने प्रयास गरिने छ।

करिब ६ महिनाअघि विनयी खोलामा रहेको स्थायी फलामे पुल भत्किएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन हुँदै आएको छ। तर, बाढी आउनासाथ डाइभर्सन बारम्बार बगाउने र फेरि निर्माण गर्ने क्रम जारी छ। हालसम्म विनयी खोलामा आएको बाढीले कम्तीमा ८ पटक डाइभर्सन बगाइसकेको छ।

डाइभर्सन बगाउँदा यात्रु तथा सवारी साधनहरू पटक–पटक जोखिममा पर्ने गरेका छन्। स्थानीयवासी र यात्रुहरूले स्थायी र सुरक्षित संरचना निर्माणमा चासो दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। बाढीका कारण बारम्बार अवरुद्ध हुने यो डाइभर्सनले महेन्द्र राजमार्गको यातायात व्यवस्थामा समेत असर पुर्‍याइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट