बलात्कार मुद्दामा सफाइ पाएका आरोपीसँग भोज गर्ने डीएसपीसहितका प्रहरी अधिकारी अनुसन्धान टोलीको घेरामा

राजविराज — बलात्कार अभियोगमा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका राजविराज– ६ का आकाश आदर्शले सप्तरी प्रहरीका डीएसपी र उनको मुद्दाका अनुशन्धान अधिकृतसहित प्रहरी अधिकारीहरुसँग ‘बर्थड पार्टी’ गरेको घट्नामा अनुशन्धान सुरु भएको छ।
घटनापछि सार्वजनिक आलोचना चुलिएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन समिति गठन गरी घटनाको अनुसन्धान थालेको हो। एसपी नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
स्रोतका अनुसार, ०८१ जेठ ५ गते, अदालतबाट सफाइ पाएका आदर्शले जिल्ला प्रहरी कार्यालयको परिसरमै डिएसपी निवासमा भोजको आयोजना गरेका थिए। सो पार्टीमा आकाशको मुद्दाका अनुसन्धान अधिकृत इन्स्पेक्टर मनीष श्रेष्ठ, डिएसपी जितेन्द्रकुमार बस्नेत, मुद्दा फाँटका इन्चार्ज इन्स्पेक्टर उदयकुमार राईलगायतका प्रहरी अधिकृतहरू सहभागी थिए।
पार्टीको बहाना जन्मदिनको भए पनि सहभागी अभियुक्त र अनुसन्धान अधिकृत एउटै हुँदा प्रहरीको अनुसन्धान प्रक्रियाप्रति गम्भीर शंका उत्पन्न भएको छ। अभियुक्तसँग प्रहरीको यो तहको सामिप्यतालाई धेरैले ‘अनुसन्धानमा मिलेमतो र पूर्वाग्रही ढंगले सफाइ दिलाउने योजनापछिको रियाक्सन’ रुपमा मानेका छन्।
आकाश आदर्शमाथि २०८१ असोजमा एक महिलाले बलात्कार गरी भिडियो खिचेर सार्वजनिक गरिदिने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि उनलाई नियन्त्रणमा लिइएको थियो र इन्स्पेक्टर मनीष श्रेष्ठ अनुसन्धान अधिकृत तोकिएका थिए।
यो घटनाले प्रहरी प्रशासनभित्रको आचरण र अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न खडा गरेको छ। पीडितलाई न्याय दिलाउनेभन्दा अभियुक्तसँग सामिप्यता बढाउने प्रहरीको यस्तो प्रवृत्तिले सम्पूर्ण प्रहरी संगठनकै साखमा धक्का पु¥याएको छ।
छानबिन टोलीका संयोजक एसपी नारायण रञ्जितकारले भनेका छन्–‘घटनाका सबै पक्षको बयान लिइँदैछ र मुद्दासम्बन्धी फाइल पनि अध्ययन हुँदैछ।’
यो पनि,