भिजिट भिसा प्रकरणः रास्वपाका कावा सभापति डीपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सविरुद्ध उजुरी

राजधानी — राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको सुमिरे टुर एन्ड ट्राभल्स मार्फत जापानमा भिजिट भिसाको नाममा हजारौं नेपालीलाई पठाएर अर्बौं रकम असुली गरेको आरोप लागेपछि यो प्रकरण राजनीतिक र कानुनी दुवै तहमा बहसको विषय बनेको छ।

विगत १० वर्षदेखि भिजिट भिसाको व्यवस्था मार्फत कामदार पठाउँदै आएको सो कम्पनीबारे ओखलढुंगाका कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको गत १४ असारको बैठकमा प्रश्न उठाएपछि विवाद चुलिएको हो।

सांसद खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सलाई ‘भिजिट भिसामा बदमासी गरेर संसदसम्मको पहुँच बनाएको’ आरोप लगाएका थिए। उनको भनाइमा केही व्यक्ति भिजिट भिसामा मानव तस्करी गरी अर्बौं कमाएर संसद किनेर दलको प्रतिनिधित्व गरिरहेको आरोप थियो।

सांसद खतिवडाले संसदमा भनेका थिए, ‘विगत १० वर्षदेखि हजारौं मान्छे पठाएर अर्बौं पैसा लिइयो। संसद किनेर दलको प्रतिनिधित्व गरिने काम भइरहेको छ। यसमा निष्पक्ष छानबिन हुनुपर्छ।’

यस विषयमा नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान ब्युरोले दुई दिनदेखि ‘चासो राखेको’ जनाएको छ। तर प्रहरी स्रोतले अहिलेसम्म कुनै ठोस प्रमाण नफेला परेको बताएको छ। ब्युरोले अध्यागमन विभाग र सम्बन्धित ट्राभल्स कम्पनीबाट विवरण संकलन गर्ने तयारी गरिरहेको बुझिएको छ।

यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भने अहिलेसम्म कम्पनी विरुद्ध कहीँकतैबाट उजुरी दर्ता नभएको स्पष्ट पारेका छन्। ‘संसदमा जे उठ्छ त्यसलाई प्रहरीको अनुसन्धानको आधार मानिँदैन। कानूनी रूपमा प्रमाण र उजुरी आवश्यक पर्छ।’– घिमिरेले भने।

प्रतिनिधिसभाको बैठकमै सांसद खतिवडाको आरोपलाई कडा शब्दमा खण्डन गर्दै कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद (डीपी) अर्यालले आफू सुमिरे टुर एन्ड ट्राभल्सको सञ्चालक रहेको स्वीकारे। तर उनले कुनै बदमासी नभएको जिकिर गर्दै चुनौती दिए, ‘यदि कसैको पैसा खाएर नफर्काइएको प्रमाण छ भने पेस गरौं।’

सांसद अर्यालले खतिवडाको अभिव्यक्तिलाई ‘निराधार र बदनाम गर्ने प्रयास’ भन्दै संसद रेकर्डबाट हटाउन सभामुखसमक्ष रुलिङ माग गरेका छन्। अर्यालले भने ‘काम गरेर खानेलाई बदनाम गर्ने नियतले आरोप लगाइयो।’ उनले ठगी खाएको प्रमाण माग गर्दै कारबाहीको चुनौती समेत दिएका छन्।

यो प्रकरणले संसदमा राजनीतिक खिचातानी मात्र होइन, सरकारले भिजिट भिसाका नाममा भइरहेका शंकास्पद गतिविधिको छानबिन कति प्रभावकारी गर्न सक्छ भन्ने प्रश्न समेत उठाएको छ।

यसैबीच, युवराज सफलले सांसद अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करीमा संलग्न भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गराएका छन्। सफलले संसदमा अर्यालले कम्पनीको स्वामित्व स्वीकारेपछि कानूनी छानबिन हुनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट